प्रतिनिधिसभा पुनः विघटन, निर्वाचन आगामी कात्तिक २६ र मंसिर ३ गते


हमार पहुरा डट कम
काठमाडौं, जेठ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको मन्त्रीपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तोक्नुभएको छ । वैकल्पिक सरकार गठनका लागि आह्वान भएअनुसार दावी पेश भएपनि बहुमत सदस्य नपुगेपछि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम संसद विघटन गरी अर्को निर्वाचन तोक्नुभएको हो ।

बैकल्पिक सरकार गठनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १५३ सांसदको सुची र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको सूचीसहित प्रधानमन्त्रीका लागि शुक्रबार दावी पेश गर्नुभएको थियो । तर दुवै दावीमा सांसदको नाम दोहोरिएको, एमाले र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा संसदीय दलका नेताले देउवा पक्षमा हस्ताक्षर गर्ने सांसदलाई कारवाही गर्ने निर्णयको पत्र राष्ट्रपति कार्यालयमा पेश गर्नु भएपछि विवादका बीच दुवै दावीमा आधार नपुग भएको भन्दै राष्ट्रपति भण्डारीले संसद विघटन गरी निर्वाचनको मिति तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७८ जेठ ८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम बर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन सम्बत् २०७८ साल कात्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन सम्बत् २०७८ साल मंसिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।”

विघटनको इतिहास
यसअघि पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ असार २६ गते प्रतिनिधि सभा विघटन सिफारिस गर्नुभएको थियो ।  प्रधानमन्त्रीउपर अविश्वासको प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । २०५२ जेठ २६ गतेको उक्त विघटन अदालतले उल्ट्याइदिएको थियो ।

यस्तै तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पनि प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । २०५४ पुस २४ गते भएको उक्त विघटनलाई अदालतले सांसदको समावेदनलाई प्राथमिकता दिनुपर्ने राय दिएको थियो ।

२०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको विघटनलाई सर्वोच्चले सदर गरेको थियो । सङ्कटकालमा पनि चुनाव हुनसक्ने भन्दै अदालतले पुनस्र्थापना माग गरिएको रिट खारेज गरेको थियो ।

यस्तै, २०७७ पुस ५ गते वर्तमान प्रधानमन्त्री ओलीले गर्नुभएको विघटन पनि अदालतले बदर गरेको थियो । पहिलो संविधान सभा पनि अदालतको फैसलाले समय तोकेपछि २०६९ जेठ १४ गते विघटन भएको थियो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया