हमार पहुरा डट कम
काठमाडौं, जेठ १५ गते । थारु पत्रकारको छाता संगठन थारु पत्रकार संघ, नेपालको भर्चुवल बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो भएको भर्चुवल कार्यक्रममा पश्चिमको कञ्चनपुरदेखि पूर्वको मोरङसम्मका थारु पत्रकारको सक्रिय सहभागिता थियो ।
जुम बैठकमा जिल्लागत रिपोर्टिङ गर्दै पत्रकारको समस्याबारे जानकारी गराउनुभएको थियो । थारु पत्रकारमा अहिलेसम्म ७ जना कोभिडबाट संक्रमित र दुई जनाको निधन भएको जानकारी बैठकमा पत्रकारले दिनुभयो । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोभिड संक्रमित भएपछि उपचारकै क्रममा जेठ ५ गते निधन भएको थियो । त्यस्तै, कपिलवस्तुका पत्रकार सञ्जय चौधरीको दुर्घटनामा परी वेैशाख ३० गते निधन भएको स्थानीय पत्रकार श्याम सिटी चौधरीले जानकारी दिनुभयो ।
पूर्व अध्यक्ष तथा सल्लाहकार लक्की चौधरीले थारु पत्रकारको आकस्मिक सहयोगका लागि कोष खडा गर्न सुझाव दिनुभयो । कोभिडको मारमा सिङ्गो विश्वभरका मानिसहरु परेजस्तै थारु पत्रकार पनि त्यसको मारमा रहेकाले एकअर्कालाई सहयोग गर्ने वातावरण बनाउन उहाँले संघका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । आगामी पाँचौ अधिवेशनअघि संघको विधान परिमार्जन गरी अघि बढ्ने र त्यसकालागि तयारी थाल्न पनि उहाँले आग्रह गर्नुभयो ।
संघका सल्लाहकार कृष्णराज सर्वहारीले थारु पत्रकारबीचको एकता कायम गर्नमा नियमित छलफल आवश्यक रहेको बताउनुभयो । संघको कोष बढाउन पुरानो हरहिसाव फरफारक गर्दै थप कोष संकलनमा लाग्नुपर्ने सुझाव दिनुभयो । वर्तमान कार्य समितिले मुखपत्र फुलरिया प्रकाशित गरेर राम्रो काम गरेको र असार मसान्तसम्म पुनः प्रकाशन गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।
संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष प्रदीप लेखीले संघलाई एकताबद्धरुपमा अगाडि बढाउन आवश्यक रहकेो बताउनुभयो । थारु पत्रकारको एकताले नै थारु पत्रकारको हकहितमा काम गर्न सकिने भन्दै उहाँले आगामी दिनमा एकभएर अगाडि बढ्न सुझाव दिनुभयो । संघको कोषलाई चुस्त राख्न उहाँले सुझाव दिनुभयो ।
बैठकमा संघका अध्यक्ष सन्तोष दहित, उपाध्यक्ष उन्नति चौधरी, महासचिव सन्तकुमार चौधरी, सचिव कमल चौधरी, अन्यपत्रकारमा गवन चौधरी, सुनिल चौधरी, सुकदेव चौधरी (सुनसरी), विद्यानन्द चौधरी (मोरङ), सुमित्रा चौधरी (चितवन), सुर्यकुमारी चौधरी (नवलपुर), राज चौधरी (रुपन्देही), श्याम सिटी थारु (कपिलवस्तु), भागत चौधरी (बाँके), जियालाल चौधरी (बारा), शम्भुप्रसाद चौधरी (वर्दिया), डिबी कुश्मी (कञ्चनपुर), प्रेम चौधरी (कैलाली) लगायतले जिल्लागत वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकमा थारु पत्रकारको ज्यूज्यानको सुरक्षा तथा आवश्यक स्वास्थ्य सामग्रीका लागि सम्बन्धित निकायसँग पहल गर्ने र थारु पत्रकारको आकस्मिक सहयोगका लागि कोष खडा गर्ने निर्णय भएको छ ।