काँग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री पदमा नियुक्त


हमार पहुरा डट कम
काठमाडौं, असार २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ज्योतिषीले देउवालाई सात पटक मुलुकको प्रधानमन्त्री बन्ने भविष्यबाणी गरेको चर्चा चलिरहँदा देउवा आज मंगलबार पाँचौ पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सर्वोच्च अदालतले सोमबार विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने समयसीमा तोकेपछि राष्ट्रपति कार्यालयले आज उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । सर्वोच्चले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउने परमादेश पनि जारी पनि गरेको छ ।

गत जेठ ८ गति विघटित प्रतिनिधिसभालाई सर्वोच्चले पुनस्र्थापना गरेको हो । प्रतिनिधिसभाका सदस्यहरुले एकमुस्त रुपमा विघटन अवधिसहितको तलब पारिश्रमिक पाउने भएका छन् । संघीय संसद सचिवालयले त्यसको तयारी भएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीअनुसार सभापति देउवालाई मुलुकको प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । तर संविधानको कुन धाराअनुसार गरिएको हो पत्रमा खुलाइएको छैन ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतले यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । सभामा एमालेको एकल १२१ सांसद संख्या छ । दोस्रो ठूलो दल काँग्रेससँग ६१ सांसद छन् । त्यस्तै तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) सँग ४९ सांसद छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट २३ जना सांसदले पार्टीबाट विद्रोह गरी देउवाको पक्षमा हस्ताक्षर गरेपछि देउवा प्रधानमन्त्रीमा पुग्न सफल हुनुभएको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै आफू र आफ्नो दलसँग जनादेश भएपनि सर्वोच्चको परमादेशअनुसार देउवा प्रधानमन्त्री बन्न सफल हुनुभएको टिप्पणी गर्नुभएको थियो । राजनीतिक विषयमा अदालत प्रवेश गरेकाले मुलुकको लोकतन्त्र खतरामा पर्ने दावी पनि उहाँले गर्नुभयो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । वरिष्ठ नेता नेपाल पक्ष पार्टीको निर्णयअनुसार अगाडि बढ्ने बताएपछि एमालेका २३ सांसदले अब देउवालाई विश्वासको मत दिने छैनन् । विश्वासको मत प्राप्त गर्ने वातावरण नबनेमा देउवाले पुनः प्रतिनिधिसभाको विघटन गरी प्रतिनिधिसभाको निर्वाचन घोषणा गर्नुहुनेछ । यस हिसावले देउवा नेतृत्वको सरकार चुनावी सरकार बन्नेछ ।

हेर्नुहोस् विज्ञप्ती

तपाईको प्रतिक्रिया