हमार पहुरा डट कम
काठमाडौं, साउन २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आठ जना पत्रकार र दुई मातृभाषी पत्रिकालाई सम्मानित गरेको छ । स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरेको हो ।
फोनिजले पत्रकारहरु भवानी बराल, कुमार यात्रु तामाङ, राजकुमार दिक्पाल, रचना श्रेष्ठ, तिलक पुनमगर, इन्द्रजित मुखिया, आङदावा शेर्पा, मौसम रोकामगर सम्मानित हुनुभयो । पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । त्यस्तै, फोनिज यूकेद्वारा स्थापित पुरस्कारबाट दुईजना पत्रकार सन्त गाहामगर र टेकराज थामी सम्मानित हुनुभयो । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
त्यस्तै, फोनिज केन्द्रद्वारा स्थापित मातृभाषा पत्रकारिता पुरस्कार २०७८ बाट मातृभाषाका दुई पत्रिका सम्मानित भएका छन् । कैलालीको धनगढीबाट प्रकाशित भइरहेको पहुरा थारु दैनिक र काठमाडौंबाट प्रकाशित भइरहेको लिम्बु भाषाको तान्छोप्पा मासिक पुरस्कृत भएका छन् । पुरस्कारको राशी १० हजार र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सम्मानित पत्रकारलाई सम्मान हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रमुख आयुक्त गुरुङले समावेशीता र आदिबासी जनजाति समुदायको सशक्तिकरणका लागि फोनिजको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्ट, फोनिज सल्लाहकार खिम घले, अनिता गुरुङ, सम्मानित पत्रकार भवानी बराल, आङदावा शेर्पा, फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष लक्की चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।