थारु ‘गुरही’ पर्व किन मनाइन्छ ?

संस्कृति

लक्की चौधरी

नेपाली समाजमा थरिथरिका तिहार र संस्कृति विद्यमान छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिने गर्छन् । गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाजले दुःखमा मन बहलाउने काम संस्कृतिबाटै गर्छ । नेपाली समाजमा नागपञ्चमी ‘गुरही’ मनाउनुको अर्थ, नागबाबालाई पुजा गर्दा विषालुभन्दा विषालु सर्प घरमा आउन नसक्ने, बज्रपात घरमा नपर्ने, रोग व्याधी र महामारी घरमा नआउने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय घरमा कुनै दुःख व्याधी नपसोस् ।

थारु समाजमा यो पर्व र पुजालाई अलि फरक किसिमले लिइन्छ । परापूर्व कालदेखि मनाउँदै आएको थारु समाजमा नयाँ आर्थिक वर्ष शुरुभएपछि पहिलो पर्वको रुपमा ‘गुरही’ लाई लिइन्छ । खेतीपातीको काम भ्याएर घरमा फुर्सदिलो बेला पर्ने तिहार कहिले आषाढ त कहिले साउन महिनामा पर्छ । पञ्चमीमा पर्ने तिहार भएकोले यसलाई नागपञ्चमी भनिन्छ । थारु समाजमा ‘गुरही, गुर्या, नुरही’ भनेर मनाउने गरिन्छ । नागपञ्चमीमा विशेषगरी नागबाबाको पूजा–आजा गरिन्छ भने थारु समाजमा ‘गुरही’ पूजा गरिन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ मनाउने चलन फरक देखिन्छ । ‘गुरही’ पूजा थारु समाजमा ठाउँ र परिवेशअनुसार फरक शैलीले मनाएको देखिन्छ ।

वर्ष दिनको खाने जोहो गर्नलाई खेतीपाती भ्याइसकेपछि आउने यो पर्व अगुवा पर्व हो भन्दा फरक नपर्ला । साँझको समयमा गाई गोरु गोठतिर लागेपछि गाउँको बरघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ, दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा र कपडाको रंगी विरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमी, बच्चादेखि बुढासम्म भेला भएका हुन्छन् । त्यहाँ उनीहरु किसिम किसिमका भुजा माग्नलाई र रमाइलो हेर्नलाई जम्मा भएका हुन्छन् । गाउँका बरघर एकै साँसमा (एकसंस्सु) डुबो घाँस, कुसमा गाँठो पार्छन् । गाँठो पारीसकेपछि ठटाउने आदेश दिएपछि त्यहाँ जम्मा भएका केटाकेटीहरुले आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् । “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँ घरका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने गरिन्छ । साथै गाउँबाट विभिन्न रोगव्याधि र दुःख कष्टबाट छुटकारा पाइन्छ, जनविश्वास छ ।

रहस्यमय कुरा के छ भने केटा र केटी आकारको लुगाको पुतला बनाएर किन चोकमा लगेर ठटाउने गरिन्छ ? राम्रो र नराम्रो दुईटै पक्ष छ । थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको संकेत गर्दछ । अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले जडा गाडेकोले त्यसैको रुप हो यो भन्ने अडकल पनि गरिन्छ । महिला भनेपछि एकातिर जननी जगतमाताको रुपमा पुजिने गरिन्छ । अर्कोतिर बोक्सीप्रथा कायमै राखेर अपमान गरिएको छ ।

‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरु चना, मकै, केराउ लगायतका परिकारका भुजा लिएर जम्मा भएका हुन्छन् । थालको भुजा न सिद्धिएसम्म गाउँ घरका जम्मा भएकालाई भुजा बाँट्ने काम गर्छन् । थालको भुजा नसिद्धिएसम्म केटाकेटीहरु उनीहरुको पछि लागिरहन्छन् । भुजा माग्दा थारु केटाकेटीहरु “देऊ भुजा देऊ भुजा” भन्छन् । चोकमा ठटाएको भुजा र कपडाको टुक्रा लिएर सहभागीहरु घरतिर लाग्छन् । त्यसरी ठटाइएका ती पुतलाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरको छानोमा राख्दा घरमा रहेको दुःख कष्ट र सर्प विच्छीहरु घरबाट निक्लेर भाग्ने गर्छन् भन्ने विश्वास छ ।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँ घरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेर जाने र लाभ प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको वैज्ञानिक आधार पुष्टि भएको छैन । गुरही पूजा भगवान नागसँग जुरेको छ । नागपञ्चमीलाई थारु समाजमा ‘गुरही’ भनिन्छ । तर नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन छैन । यदाकदा आजभोली त्यो पनि गरिन्छ । यो पूजा गरेको दिनदेखि सर्प र विच्छीहरु आफ्नो दुलोमा लोप हुन्छन् भन्ने विश्वास एकातिर छ भने अर्कोतिर नाग पुजा गर्दा सर्पको राजा नाग भएकोले डराएर घरमा अरु सर्पहरु प्रवेश नगर्ने र घरमा बज्रपात नहुने विश्वास गरिन्छ ।

‘गुरही’ मान्नुको सारतत्व प्रमाणित नभए पनि पुर्खादेखि चलेको चलनप्रति थप खोज अनुसन्धान जरुरी छ । रंगीविरंगी कपडाको पुतला बनाएर त्यसलाई गाउँको चौराहामा लगेर कोर्राले पिटने, पिटीसकेपछि उसैको खुशीयालीमा भुजा बाँडेर खाने चलनको रहस्य महत्वपूर्ण छ । यद्यपि सारमा भन्दा समाजमा भएको खराव पक्ष र समाजलाई अधोगतितिर लग्ने पक्षलाई गाउँ निकाला गरी गाउँको उन्नति प्रगतिको कामना गरेको स्पष्ट हुन्छ । दिनदिनै लोप हुँदैगरेको पर्वलाई थारुहरुले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । शुरुवातको तिहार भएर पनि थारु समाजभित्र यसको प्रभाव अरु तिहारजस्तो भने छैन । तथापि महत्व आफ्नो ठाउँमा कम छैन । गुरही पर्वको महत्व र यसको वैज्ञानिकता अध्ययन गर्न सके पर्वलाई नयाँ शीराबाट व्याख्या विश्लेषण गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया