थारु गुरिया मनाउँदै वर्दियाको जोतपुर गाउँमा ‘बरघर चोक’ नामाकरण


हमार पहुरा डट कम
राजापुर, साउन ३० गते । राजापुर नगरपालिका २ जोतपुर गाउँको बरघर चोकमा थारु समुदायले गुरिया कार्यक्रम सम्पन्न गरेका छन् । यो पर्व कतिपय गाउँहरुमा गुरियाको नाममा मिठो मसिनो खाने मात्र काम हुदै गरेकोमा यस बर्ष विधिपुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

पर्वलाई थारु समुदायमा जानकारीमा ल्याउन गाउँको बीचमा पर्ने जोतपुर सामुदायिक भवन छेउको बरघर चोकमा आयोजना गरिएको आयोजकको भनाई छ । थारु समुदायको आफ्नै सँस्कृति र पहिचान छ । बरघर प्रणालीलाई स्थापित गर्नका लागि थारुहरुले गाउँ सञ्चालन तथा व्यवस्थापन गर्ने मुख्य जिम्मेवार बरघर रहने भएकाले बरघरकै नामले सो चोकको नामाकरण गरिएको अधिकारकर्मी सोम डेमनडौराले बताउनुभयो ।
थारु समुदायमा कतै गुरिया त कतै गुरहीको नामले यो पर्व मनाउने गरिन्छ । बालबालिकाको मुख्य सहभागीता रहने भएकाले यो पर्वलाई बालपर्वकोरुपमा पनि लिने गरिएको छ । गुरही, गुर्ही एक प्रकारको किरा जसलाई अंग्रेजीमा ‘ड्य्रागन फ्लाई’ भनिन्छ । गुरिया, गुर्या– हिन्दी भाषामा गुडीया तथा अंंग्रेजीमा मन्नेक्विन भनिन्छ ।

यो पर्व साउन शुक्लपक्ष, नागपञ्चमीका दिनमा मनाउने गरिन्छ । गुरही गुरियाको दिन गाउँको चोकमा साँझ पख महिला तथा केटीहरुले गुरिया (गुर्ही) फाल्ने र पुरुष तथा केटाहरुले त्यसलाई स्वाँटा (एक प्रकारको घाँसबाट बनाइएको कोर्रा या लठ्ठी) ले पिट्ने गर्छन् । पिटी सकेपछि घुघरी (मटर, केराउ, चना या चामलको भुजा), बरिया, रोटी, खुर्मा खाने गर्छन् । त्यसपछि सेलाउन जाने गरिन्छ ।

गुर्हीले लामखुट्टे तथा किराहरुलाई खाने गर्छन् त्यसैले दुष्ट आत्मा नाशककोरुपमा लिइने गरिन्छ । गुर्ही बनाएर पिटेमा दुःख, कष्ट तथा विमारी र बालीनालीमा हुने प्रकोप समेत नाश हुने जनविश्वास छ । यो पर्व दिदीभाइबीचको प्रगाढ सम्बन्धको पर्वकोरुपमा र सद्भावको पर्वकोरुपमा समेत लिने गरिन्छ ।

युवा समाजसेवी सिताराम थारु भन्छन् काठमाडौंमा नोकरीका लगि र पढ्न गएका थारुहरुले यो पर्वको आयोजना गर्छन् । थारु गाउँमा भने पर्वको नामले मासु भात मात्र खाने चलन छ । तसर्थ थारु समुदायको सँस्कृति गाउँस्तरबाट नै मनाउने परम्परा स्थापित गर्न गाउँको बीच भागमा पर्ने बरघर चोकमा मनाइएको हो ।

जोतपुर गाउँका बरघर बीरेन्द्र दहितले युवाहरुको बौद्धिक सोंचले गुरिया पर्व प्रथम पटक यसरी भव्य रुपमा मनाइएकोमा खुसि व्यक्त गर्नुभयो । कार्यक्रमको व्यववस्थापन जोतपुर बरघर समितिले गरको थियो भने सञ्चालन बरघर समितिका सचिब पुर्णबहादुर थारुले गर्नुभयो ।

तपाईको प्रतिक्रिया