हमार पहुरा डट कम
भक्तपुर, साउन ३१ गते । भाषा विज्ञानका विज्ञ तथा संवैधानिक निकायका प्रमुखहरुले भाषा विचार विनिमय गर्ने प्रमुख माध्यम भएकाले त्यसको संरक्षण र प्रवद्र्धन समुदायको काँधमा रहेको बताउनुभएको छ । थारु आयोग र थारु कल्याणकारिणी सभा (थाकस) संयक्त आयोजनामा आइतबारदेखि शुरुभएको थारु मानक भाषा बनाउने चार दिवसीय कार्यशाला गोष्ठीमा विज्ञहरुले सो धारणा राख्नुभएको हो ।
थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु लेख्य अवस्थालाई एकरुपता ल्याउन थारु मानक भाषा बनाउन अपरिहार्य भएको बताउनुभयो । थारु समुदाय तराईका २४ जिल्लामा छरिएर रहेकाले उच्चारणमा विविधता भएको र त्यसलाई एकरुपता ल्याउन कार्यक्रमको आयोजना भएको बताउनुभयो । मानकीकरण गर्नु चुनौतिपूर्ण रहेपनि समुदायमा समझदारी बनाएर अघि बढ्न अनिवार्य रहेको उहाँले बताउनुभयो ।
लेखनशैली र कार्ययोजनामा सहमति बने थारु मानक भाषा बनाउन समस्या नभएको उहाँले बताउनुभयो । आयोगका अध्यक्ष चौधरीले मानक बनेपछि त्यसलाई पठन पाठन र सरकारी कामकाजका लागि पहल गरिने स्पष्ट पार्नुभयो ।
थारु आयोगका सदस्य भोलाराम चौधरीले थारु भाषाको संरक्षण र जगेर्ना गर्ने अभिभारा थारु समुदायको काँधमा रहेको बताउनुभयो । जनसंख्या बृद्धि भएपनि थारु भाषा वक्ताहरु ओरालो लाग्नेक्रममा रहेको उहाँले चर्चा गर्नुभयो । बसाई सराईको चपेटामा भाषाहरु पर्ने गरेको चर्चा गर्नुहुँदै आयोग सदस्य चौधरीले थारु मातृभाषालाई एकरुपता कायम गर्न मानक बनाउने अभियान शुरुभएको बताउनुभयो ।
थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले भाषिक एकता कायम गर्न थारु आयोगसँग सहकार्य गरी अभियान शुरु भएको जानकारी दिनुभयो । थारु भाषाको नाममा समाज फुटाउने प्रयास पनि भइरहेकाले थारु समुदाय त्यसमा सजग हुनुपर्ने उहाँले बताउनुभयो । थारु भाषामा निकै कम अनुसन्धान रहेको चर्चा गर्नुहुँदै थारु समाजका विज्ञ, अगुवा तथा भाषाप्रेमीहरुले आफ्नै सक्रियतामा मानक भाषालाई अन्तिम रुप दिन लाग्नुपर्ने बताउनुभयो । मानक भाषा बनाउन केही समय लाग्ने भएपनि असम्भव नरहेको उहाँले चर्चा गर्नुभयो ।
आदिबासी जनजाति आयोगकी सदस्य रीना रानाले मानव सभ्यताको जीवितरुप भाषा भएकाले यसको संरक्षणमा सबै समुदाय लाग्नुपर्ने बताउनुभयो । थारु समुदाय पश्चिम महाकालीदेखि पूर्व झापासम्म फैलिएर बसेकाले सबै ठाउँका थारुले अपनत्वबोध गर्नेखालको थारु मानक भाषा बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले भाषा विचार विनियम गर्ने माध्यम भएकाले समुदायले स्वीकार गर्नेखालको बन्नु आवश्यक रहेको बताउनुभयो । थारु समुदायको साझा सम्पत्तिकोरुपमा मानक भाषा स्थापित हुने उहाँले विश्वास गर्नुभयो । थारु समुदायले तयार गरेको मानकलाई थारु आयोगले सरकारलाई सिफारिस गरेमा कार्यान्वयनमा जाने उहाँले बताउनुभयो ।
मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले थारु मानक भाषा निर्माणले थारु एकतामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । राज्यबाट पाउने आरक्षण र सुविधाका लागि पनि भाषा एकरुपताको आवश्यकता हुने उहाँले चर्चा गर्नुभयो । मानक भाषा बनाउँदा चुनौति तमाम आउने भएपनि त्यसलाई अवसरमा बदलेर थारु समुदाय अघि बढ्नुपर्ने उहाँले सुझाउनुभयो ।
रुम टु रिडका नेत्रप्रसाद दाहालले भाषा, सरल, सहज र स्वीकार्य हुनु अनिवार्य रहेको बताउनुभयो । भाषा अभ्यास गर्नेखालको, व्यवसायिकता हुनुपर्ने उहाँले चर्चा गर्नुभयो । भाषा एकरुपताका लागि पाठ्यक्रममा लग्न अनिवार्य रहेको उहाँले बताउनुभयो । भाषाले संस्कार र संस्कृतिको जगेर्ना गर्ने हुनाले भाषाको संरक्षण अनिवार्य रहेको उहाँले बताउनुभयो । भाषा आउने पीढिकालागि समेत बोधगम्य हुनुपर्ने भएकाले मानक भाषा बनाउँदा त्यसमा पनि ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो । भाषा स्वीकार्यता महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।
थारु आयोग र थारु कल्याणकारिणी सभा (थाकस) संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न २४ जिल्लाका ५० बढी थारु विज्ञ तथा अगुवाहरुको सहभागीता रहेको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागका पूर्व प्रमुख प्रा.डा. दानराज रेग्मी, भाषाविज्ञ डा. नेत्रमणी दुमीराई, थारु आयोगका सदस्य भोलाराम चौधरी र थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले सहजीकरण गर्ने आयोजकले बताएको छ ।
थारु आयोगका सचिव श्री कृष्णकान्त उपाध्यायले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रम साउन ३१ गतेदेखि भदौ २ गतेसम्म चार दिन चल्ने आयोजकले बताएको छ ।