एमालेको दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा हुने


गीता चौधरी
काठमाडौं, भदौ ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो दलको दशौं केन्द्रीय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीकाअनुसार आगामी विहिबार १० गते केन्द्रीय कमिटी बैठक बस्नेछ । त्यस्तै, भदौ १६ देखि २० गतेसम्म पार्टीको जिल्ला, केन्द्र तथा जनवर्गीय सगठनको प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय एमालेले गरेको छ । त्यस्तै, आगामी असोज ४ देखि ६ गतेसम्म पार्टीको विधान महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको पनि ज्ञवालीले बताउनुभयो ।

सोहीअनुसार आगामी असोज मसान्तभित्र पार्टीको सदस्यता नविकरण सम्पन्न गरिसक्ने, भदौ २५ र २६ गते स्थायी कमिटी बैठक बस्ने, २७ र २८ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

त्यस्तै, आगामी कात्तिक ६ गते पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने, ९ गते पालिकास्तरका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी एकतामा आउन बैठकले पुनः आव्हान गरेको छ । पार्टी दर्ता प्रक्रिया रोकेर एकतामा आउनेलाई सबै किसिमको माफी दिएर पार्टीमा स्वागत गर्ने निर्णय एमालेले गरेको छ ।

कार्यदल गठन
पार्टीको आन्तरिक गृहकार्य गर्न, १० बुँदे सहमति कार्यान्वयन तथा केन्द्रीय विभागलाई पूर्णता दिन एमालेले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहनुभएको छ ।

तपाईको प्रतिक्रिया