थारु कल्याणकारिणी सभाद्वारा भाषा आयोग र थारु आयोगको ध्यानाकर्षण


हमार पहुरा डट कम
काठमाडौं, भदौ १३ गते । भाषा आयोगले सातवटै प्रदेशमा सरकारी कामकाजको थप भाषा सिफारिस गर्ने तयारी गरिरहँदा चौथो जनसंख्या भएको थारु समुदायको छाता संगठन थारु कल्यणकारिणी सभा (थाकस) ले आयोगलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएको छ ।

आयोगले सात प्रदेशमा १२ वटा थप भाषालाई स्थानीय रुपमा सरकारी कामकाजको भाषाकोरुपमा सिफारिस गर्न लागेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि थाकसका पदाधिकारीले आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।

आयोगले सिफारिसका लागि तयार गरेको प्रस्तावमा लुम्बिनी प्रदेशमा थारु (डंगौरा) भाषालाई सरकारी कामकाजको रुपमा सिफारिस गर्न लागेको र सुदूरपश्चिम प्रदेशमा थारु (राना) भाषालाई सिफारिसको प्रस्ताव तयार भएको भन्दै थाकसले आपत्ति जनाएको हो । थारु भाषा र समुदायलाई फुटाउने गरी आयोगले अलग अलग नामबाट सिफारिस गर्ने तयारी गरेपछि त्यसो नगर्न दवावस्वरुप ध्यानाकर्षणपत्र बुझाइएको महामन्त्री चौधरीले बताउनुभयो ।

थारु भाषा मुलुकको चौथो ठूलो जनसंख्याले बोल्ने भाषा भएकाले सरकारी कामकाजमा सिफारिस हुनु खुशीको कुरा भएपनि फुटाएर सिफारिस नगरी थारु भषा नाम दिएर सिफारिस गर्न माग गरिएको महामन्त्री चौधरीले बताउनुभयो । भाषा आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले संविधानले दिएको व्यवस्थाअनुसार प्रदेशमा एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्थाअनुसार आयोगले थप भाषा सिफारिसको प्रस्ताव तयार पारेको बताउनुभयो ।

एक लाखभन्दा बढी बक्ता रहेको भाषालाई आधार बनाएर आयोगले प्रदेश तथा स्थानीय तहमा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सकिने गरी सिफारिसको प्रस्ताव तयार गरेको आयोगका सचिव भट्टराईले बताउनुभयो । २०६८ को जनगणनाअनुसार थारु भाषीको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको र एक लाखबढी भाषीहरु लुम्बिनी र सुदूरपश्चिम प्रदेश बाहेक प्रदेश १, प्रदेश २ मा पनि रहेको महामन्त्री चौधरीले दावी गर्नुभयो ।

थाकसले भाषा आयोग र थारु आयोगलाई आइतबार छुट्टाछुट्टै ध्यानाकर्षणपत्र बुझाएको महामन्त्री चौधरीले जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले भाषा आयोगसँग आवश्यक छलफल गरेर सो बारेमा निर्णय लिने बताउनुभएको थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीले जानकारी दिनुभयो । सो विषयमा थारु आयोगका पदाधिकारीहरुसँग आज छलफल भएको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया