पत्रकार तथा साहित्यकार लक्की चौधरी पुरस्कृत हुँदै


SAM_1861

गीता चौधरी
काठमाडौं, पुस २३ गते । पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । पुस २५ गते हुने विशेष समारोहकाबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।

सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो । थारु भाषा, साहित्य तथा संस्कृतिको उत्थानका निम्ति पत्रकारिताको माध्यमबाट योगदान पु¥याएको भन्दै सो प्रतिष्ठानले पत्रकार चौधरीलाई पुरस्कृत गर्न लागेको हो ।

वि.सं. २०५२ सालमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष चार विधा भाषा, साहित्य, पत्रकारिता र कला क्षेत्रमा योगदान पु¥याएको व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै आएको छ । थारु भाषा साहित्यमा योगदान पु¥याएको मूल्याङ्कन गरी पत्रकार चौधरीलाई एकाउन्न हजार राशीको पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानका अध्यक्ष चन्द्रेश्वर रौनियारले जानकारी दिनुभयो । पुरस्कारसँगै सम्मानपत्र तथा दोसल्ला रहने उहाँले बताउनुभयो ।

पत्रकार तथा साहित्यकार चौधरीका अहिलेसम्मा सहिदान गजलसंग्रह (२०६१), तिहुवार संस्कृति परिचय (२०६२), अन्तर्भाव गजल संग्रह (२०६३), मोर पहुरा लेख संग्रह (२०७०), नेन्धर कविता संग्रह (२०७१), कृतिहरु प्रकाशनमा छन् । त्यस्तै थारुभाषाको साप्ताहिक पत्रिका पहुरा (२०५९) को सम्पादक प्रकाशक, थारु भाषाकै पहिलो अर्धसाप्ताहिक तथा दैनिक पत्रिका हमार पहुराको सम्पादक प्रकाशक भई थारु भाषा साहित्य र समाचारमा योगदान दिनुभएको छ ।

सोहीअनुसार गोरखापत्र दैनिकमा २०६६ माघदेखि स्थायी नियुक्ती पाउनुभएपछि राष्ट्रिय पत्रकारिता क्षेत्रबाटै थारुभाषा साहित्य तथा थारु समुदायको संस्कृतिबारेको समाचारलाई प्रकाशनमा योगदान दिनुभएको छ ।

थारु पत्रकार संघ नेपालको मुखपत्र फूलरिया वार्षिक पत्रिकाको प्रधान सम्पादक तथा २०७२ मंसिर १ गतेबाट सञ्चालनमा रहेको हमार पहुरा डट कम अनलाईन न्यूज पोर्टलको समेत प्रधान सम्पादक भएर थारुभाषा, साहित्य तथा सो समुदायको समाचार प्रकाशन गरी विश्वलाई जानकारी गराउनमा ठूलो योगदान दिनुभएको छ ।

सुदूरपश्चिमको कैलाली जिल्लाको उर्मा ४, रामपुरमा जन्मेका चौधरी समाजशासत्र, राजनीतिशास्त्र तथा पत्रकारितामा स्नातकोत्तर हुनुहुन्छ । गोरखापत्रबाट प्रकाशन हुने वहुभाषिक पृष्ठ नयाँ नेपाल विभागको संयोजकको जिम्मेवारी निर्वाह गर्दैआउनुभएको पत्रका चौधरी यसअघि पनि संस्कृति तथा पर्यटन मन्त्रालयबाट ५० हजार राशीको क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७) बाट समेत सम्मानित भइसक्नुभएको छ ।

पत्रकार चौधरी अहिले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै, थारु पत्रकार संघ नेपालको पूर्व अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । पत्रकार चौधरी विभिन्न संघ संस्थाबाट यसअघि करिब आधा दर्जन पुरस्कारबाट सम्मानित भइसक्नुभएको   छ ।

तपाईको प्रतिक्रिया