स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी


हमार पहुरा डट कम
काठमाडौं, भदौ २२ गते । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले जावलाखेलस्थित कार्यालयमा विभिन्न माग राख्दै मंगलबारदेखि तालाबन्दी गरेका छन् ।

संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चित्ताको माग गर्दै तालाबन्दी गरिएको कर्मचारीहरुको भनाई    छ । सो संस्थामा कार्यरत कर्मचारी सन्तलाल श्रेष्ठले प्रतिष्ठान भित्र नेतृत्वमा रहेका केही कर्मचारीले आफ्नो स्वार्थपूर्ति गर्न प्रतिष्ठानलाई धरासयी पार्ने प्रयासको विरुद्ध तालाबन्दी गरिएको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको प्रतिष्ठानका केही कर्मचारीले कार्यालयलाई एनजीओकरण गर्न खोजेको आन्दोलनरत कर्मचारीहरुको आरोप छ । प्रतिष्ठानको समुन्नतिको पक्षमा कुरा उठाउँदा सरुवा गर्ने र जागिर खाने धम्की दिने नेतृत्व तहको गलत प्रबृत्तिकाविरुद्ध कर्मचारीहरु आन्दोलित भएको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै प्रतिष्ठानका अनुसन्धान अधिकृत टापेन्द्र रिजालले प्रतिष्ठानका कर्मचारीहरुले आफ्ना समस्यहरुबारे पटक–पटक मन्त्रालयलाई जानकारी गराए पनि माग सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको बताउनुभयो । मन्त्रालयका सचिवले आफूहरुलाई समस्या समाधान गर्नेगरी प्रतिवेदन बनाएर ल्याउन भन्नुभएको र सो अनुसार नै प्रतिवेदन बनाएर हस्तान्तरण गर्दासमेत मागको सुनुवाई नभएको रिजालले बताउनुभयो । कर्मचारीको माग सुनुवाई नभएसम्म तालाबन्दी जारी राख्ने उहाँले बताउनुभयो ।

आन्दोलनरत कर्मचारीले प्रतिष्ठानको ऐन नियम बमोजिम कार्य सुनिश्चित गरिनुपर्ने, प्रतिष्ठान ऐन तथा नियमावली नयाँ बनाउनुभन्दा विद्यमान ऐन तथा नियमावली कार्यक्षेत्र नघट्ने गरी समय सापेक्ष संंशोधन गर्नुपर्ने, प्रतिष्ठानका कर्मचारीको क्षमता विकासका लागि आवश्यक तालिम, प्रशिक्षणको व्यवस्था हुनुपर्ने,

कर्मचारीहरुको समग्र पेशागत सुरक्षा सुनिश्चित् हुनुपर्ने, प्रतिष्ठानको सांगठानिक संरचना स्पष्ट बनाएर काम हुनुपर्ने लगायतका माग राखी कर्मचारीहरु आजदेखि आन्दोलित भएको सो संस्थामा कार्यरत कर्मचारी शत्रुघन चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार विगत ११ वर्षदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पदपूर्ति र कर्मचारीहरुको वृत्ति विकासको काम हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया