थारू भाषा मानकीकरण सवाल

लक्की चौधरी

एक अर्काको विचार आदान प्रदान तथा सूचना प्रवाह गर्ने प्रमुख माध्यम भाषा हो । लिखितरुपमा विचार प्रवाह गर्दा लिपिको आवश्यकता पर्छ । मौखिक रुपमा प्रवाह गर्दा ध्वनिको खाँचो पर्छ । भाषाविना विचार प्रवाह अपूर्ण हुन्छ । भाषालाई समाजमा प्रयोग गरिने हुनाले यसलाई सामाजिक वस्तु मानिन्छ । चराचर जगतका जीव जिवात्माले पनि केही न केही संकेत र ध्वनिको माध्यमले सूचना प्रवाह गर्छन् । प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको बाचक मानिन्छ । पछि त्यही वाचक नै रुढ बन्छ । नेपाली भाषालाई शुरुमा पर्वते भाषा, खस भाषा, गोर्खाली भाषाले चिनिन्थ्यो । खस भाषा र थारू भाषा दुवै भारोपेली भाषा परिवार अन्तर्गत्का भाषा हुन् । नेपालमा जातीय विविधता छ । त्यहीअनुसार भाषामा पनि विविधता हुने नै भयो । एउटै जाती समूह भित्रको भाषामा पनि ठाउँअनुसार फरक भेद हुन्छन् । यही भेदलाई भाषिका भनिन्छ । थारू समुदाय नेपालको सबै जिल्लामा छरिएर बसेका छन् । तराईका जिल्लामा सघन बसोबास छ । तर काम विशेषले सबै जिल्लामा थारू पुगेको तथ्याङ्क देखिन्छ ।

पश्चिमदेखि पूर्वी तराईका जिल्लामा छरिएर रहेका थारू को भाषा विभिन्न भाषाको प्रभावमा पर्दैगएको छ । चितवन पश्चिमको थारू भाषा अवधि, हिन्दी, खस नेपालीको प्रभावमा पर्दैगएको छ । चितवन पूर्वका थारू भाषा, भोजपुरी, मैथिलीको प्रभावमा छ । त्यसकारण थारू भाषाको भेद फरक छ । पश्चिमका थारू ले पूर्वी थारू ले बोलेको भाषा हुबहु फर्काउन सक्दैनन् । बुझ्न भने प्रायः सबै बुझ्छन् । पश्चिमको बोलीमा पूर्वी थारू ले फर्काउन नसक्नु, मध्ये चितवनियाँ भाषालाई पश्चिम र पूर्वी दुवै क्षेत्रका थारू ले फर्काउन नसक्नुको मुख्य कारण यही भेद हो । यही भेदका कारण दंगौरा, कठरिया, देशौरिया, नवलपुरिया, लालपुरिया, चितवनियाँ, कोचिला, सप्तरिया, मोरङिया नाम पर्न गएको हो ।

२०६८ को जनगणनाले थारू को जनसंख्या १७ लाख ३७ हजार ४७० देखाएको छ । जनसमध्ये १५ लाख २९ हजार ८७५ ले थारू मातृभाषा बोल्छन् । बक्ता र जनसंख्या दुवै हिसावले थारू भाषा नेपालको चौथो ठूलो भाषा हो । तर यस भाषाको लिपिको पहिचान अझै हुन सकेको छैन । थारू भाषीहरुले लिपिको खोजीकार्य जारी राखे पनि टुङ्गोमा पुग्न सकेका छैनन् । त्यसैले थारू भाषीलाई देवनागरी लिपिको प्रयोग गर्नुको विकल्प रहेन ।

मानक भाषा
भाषाका दुई रुप हुन्छन् लेख्य र कथ्य । बोलचालमा मात्र प्रयोग हुने भाषा कथ्य हो भने लिपिको माध्यमबाट लेखनमा प्रयोग गरिने भाषा लेख्य भाषा हो । मानक भाषा भनेको लेख्य भाषा हो । जसको निश्चित व्याकरण र लेख्य नियम बनेको हुन्छ । सरकारी कामकाजको भाषा, सञ्चारमाध्यममा प्रयोग गरिने तथा पाठ्यक्रममा पठनपाठनको रुपमा प्रयोग हुने भाषा नै मानक भाषा हो । मानक भाषालाई सर्वस्वीकार्य र सर्वमान्य भाषाको रुपमा परिभाषित गरिने गरिन्छ । तर शतप्रतिशत स्वीकार्य भने भएको देखिदैन । अहिले प्रयोगमा रहेको न अंग्रेजी भाषा सर्वस्वीकार्य बन्न सकेको छ न त नेपाली । तर एउटा नियममा लिपिबद्ध गरिएकाले स्वीकार्य भाषाको स्थान बनाएको छ । सरकारी कामकाजमा प्रयोग हुने मानक भाषालाई नै शुद्ध र संग्रहणीय भाषाको रुपमा स्वीकारिन्छ । जसरी अहिले खस नेपाली भाषालाई स्वीकार गरिएको छ । भाषालाई सुव्यवस्थित, अनुशासित र नियमबद्ध बनाउने काम व्याकरणको हो । त्यसैले मानक भाषा बन्न व्याकरण र शब्दकोष अनिवार्य मानिन्छ । व्याकरण व्यवस्था अन्तर्गत सो भाषाको ध्वनि, वर्ण, शब्द, रुप, पदावली र वाक्य पर्छन् । रुप सबैभन्दा सानो इकाई हो भने वाक्य सबैभन्दा ठूलो इकाई हो ।

मानकीकरणका लागि भाषाको शब्दभण्डार पनि त्यति नै अनिवार्य हुन्छ । विना शब्दभण्डार भाषालाई सुव्यवस्थित बनाउन सकिदैन । जुन भाषाको शब्दभण्डार जति बलियो हुन्छ, त्यो भाषा त्यति नै समुन्नत मानिन्छ । समुदायको आफ्नै मौलिक शब्दले मात्र शब्दभण्डार पूर्ण हुँदैन । त्यसलाई पूर्ण र व्यवहारिक बनाउन मौलिक, आगन्तुक शब्दको समिश्रण गर्नैपर्छ । जुनसुकै भाषामा आगन्तुक शब्दलाई स्वीकार गरिएको हुन्छ । विभिन्न भाषाको समिश्रणकै कारण अंग्रेजी र नेपाली भाषा समृद्ध भएका हुन् । पर्याप्त शब्दभण्डारकै सहयोगले कुनै पनि भाषाले उचाई लिन्छ ।

थारू वर्ण निर्धारण
लेखन साहित्यमा थारू भाषाको प्रयोग निकै अघिदेखि भएको हो । त्योभन्दा अघि कथ्य रुपमा भाषा प्रयोग भएको हो । तर वर्ण निर्धारणको काम निकै ढिलो भयो । त्यो पनि क्षेत्रगत रुपमा । एउटा समूहले चितवन पूर्वमा बोलिने मध्यपूर्वीया थारू को वर्ण निर्धारण ग¥यो । अर्को समूहले चितवन पश्चिममा बोलिने दंगौरा थारू भाषाको वर्ण निर्धारण । एउटै भाषिक समूहभित्र फरक फरक वर्ण निर्धारण हुन थालेपछि थारू बीच नै फुट हुने डर भयो । त्यहीकारण थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) ले आफ्नो पहलमा पूर्व र पश्चिमका थारू समुदायलाई जोड्नेगरी अर्को साझा वर्ण निर्धारण ग¥यो ।

मध्यपूर्वीया थारू भाषा लेखन शैली निर्धारण गर्न चितवन पूर्वका १२ जिल्लाका थारू को सक्रियता रहेको थियो । २०७० चैत २४ देखि २०७१ वैशाख ४ गतेसम्म काठमाडौंमा सञ्चालन भएको गोष्ठीले पूर्वीया थारू भाषाको वर्ण निधारण गरेको थियो । सो गोष्ठीले गरेको निर्णयमा आठ वटा स्वर वर्ण र ३० वटा व्यन्जन वर्ण निर्धारण गरेको थियो ।

पूर्वीया थारू भाषा वर्ण निर्धारण
स्वर वर्णः अ, आ, इ, उ, ए, ऐ, ओ, औ ।
व्यन्जन वर्णः क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह ।

पश्चिमको दंगौरा थारू को वर्ण निर्धारण गर्दा पश्चिमका केही थारू मात्र सहभागी भएर प्रस्तावित वर्ण निर्धारण गरेका थिए । २०७३ साउन १ देखि ३ गतेसम्म दाङको घोराहीमा भएको गोष्ठीले सो निर्णय गरेको थियो । गोष्ठीले ६ वटा नासिक्य र ६ वटा अनुनासिक गरी १२ वटा स्वर वर्ण निर्धारण गरेको थियो । त्यस्तै, ३० वटा व्यन्जन वर्ण निर्धारण गरेको थियो ।

दंगौरा भाषा वर्ण निर्धारण
स्वर वर्णः अ, आ, इ, उ, ए, ओ
अँ, आँ, इँ, उँ, एँ, ओँ

व्यन्जन वर्णः
क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, न, न्ह, प, फ, ब, भ, म, म्ह, य, र, र्ह, ल, ल्ह, व, व्ह, स, ह ।

थारू कल्याणकारिणी सभा (थाकस) अन्तर्गत गठित थारू मानक भाषा मस्यौदा समिति र थारू आयोगको संयुक्त आयोजनामा चार दिने संयुक्त गोष्ठी भक्तपुरको बोडेमा सम्पन्न भयो । २०७८ साउन ३१ देखि भदौ २ गतेसम्म भएको कार्यशाला गोष्ठीमा थारू बहुल २४ जिल्लाका थारू भाषा विज्ञ, अगुवाहरुको सहभागिता थियो । गोष्ठीले स्वर वर्णको कथ्यमा ६ वटा वर्ण र लेख्यमा १३ वटा स्वर वर्णको निर्धारण गरेको छ । त्यस्तै, व्यन्जन वर्णको कथ्यमा २९ वटा वर्ण र लेख्यमा ३६ वटै वर्णको प्रयोग गर्ने निर्णय ग¥यो ।

संयुक्त गोष्ठीले गरेको वर्ण निर्धारण
स्वर वर्णः
कथ्यः अ, आ, इ, उ, ए, ओ
लेख्यः अ, आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, अं., अः
व्यन्जन वर्णः
कथ्यः क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह गरी २९ वर्ण ।
लेख्यः क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स ह, लेख्ने, र श, ष, क्ष, त्र, ज्ञ समेत गरी ३६ वटा वर्ण । तर छायाँमा पारिएको वर्णलाई आवश्यकताअनुसार प्रयोग गर्ने ।

पश्चिमका थारू ले मौलिक शब्दमा दन्त्य त वर्गको वर्ण त, थ, द, ध, प्रयोग नगर्ने निर्णय लिए । तर पश्चिमकै कठरिया थारू ले, मध्य तथा पूर्वीया थारू ले मौलिक शब्दमा त वर्गका त, थ, द, ध, वर्ण प्रयोग गर्ने निर्णय लिए । सोहीअनुसार श, ष, क्ष, त्र, ज्ञ वर्णको पनि आवश्यकताअनुसार प्रयोग गर्ने निर्णय गरे । पश्चिमका थारू ले श, ष, क्ष, त्र, ज्ञ को प्रयोग नगर्ने निर्णय लिए । तर पश्चिमको कठरिया, मध्य तथा पूर्वीया थारू ले श, ष प्रयोग मौलिक शब्दमा नभए पनि क्ष, त्र, ज्ञ को प्रयोग गर्ने गरेको निर्णय लिए । आगन्तुक शब्दमा छायाँमा पारेका सबै वर्णको प्रयोग गर्ने निर्णय लिएका छन् ।

त्यस्तै, भेलाले अर्को महत्वपूर्ण निर्णय ग¥यो । थारू भाषाको आफ्नो मौलिक लिपिको फेला परिनसकेकाले मानकीकरणमा देवनागरी लिपिको प्रयोग गर्ने र थारू लिपि खोज अनुसन्धान गर्ने प्रयासलाई जारी राख्ने निर्णय लियो ।

संयुक्त भेलाले ७ वटा संवर्णको प्रयोग गर्ने निर्णय पनि लियो । संवर्णको रूपमा ड. , ढ. , ङ्ह, न्ह, म्ह, र्ह, ल्ह गरी ७ वटा वर्णको प्रयोग गर्ने निर्णय लियो । सोहीअनुसार तत्सम, तद्भव र आगन्तुक शब्दलाई स्वीकार गरी लेख्ने निर्णय ग¥यो । त्यस्तै, थारू मौलिक शब्दलाई उच्चारणको आधारमा ह्रस्व ( ि) र दीर्घ ( ी ) दुवैको प्रयोग गर्ने । पञ्चम वर्ण (ङ, ञ, ण, न, म) लाई देवनागरी लिपिमा भएअनुसार लेख्यमा स्वीकार गर्ने निर्णय पनि लियो । सोहीअनुसार अ, आ र उ उच्चारणबाट बन्ने शब्दमा चन्द्रविन्दु ( ँ ) को प्रयोग गर्ने । अन्यमा शिरविन्दू ( ं ) प्रयोग गर्ने निर्णय लियो । त्यस्तै, पाउ विन्दू, हलन्त र अजन्त चिन्हहरूको प्रयोग देवनागरीका आधारमा आवश्यकताअनुसार गर्ने निर्णय लियो ।

गोष्ठीले लिएको अन्य निर्णयहरुमा स, श र ष मध्ये थारू मौलिक शब्दमा ‘स’ वर्णको प्रयोग गर्ने । तत्सम, र आगन्तुक शब्दहरूमा श र ष दुवै वर्णको प्रयोग गर्ने निर्णय लियो । त्यस्तै, कारक र विभक्ति चिन्ह शब्दसँग जोडेर लेख्ने । थारू मौलिक विभक्तीमा खातिर र लाग विभक्ति छुट्टै प्रयोग गर्न सकिने निर्णय लियो । सोहीअनुसार शब्दको शुरु र बीचमा ‘इकार’ का लागि ह्रस्व ( ि) चिन्हको प्रयोग गर्ने, तर शब्दको अन्त्यमा ‘इकार’ का लागि दीर्घ ( ी ) प्रयोग गर्ने । त्यस्तै, शब्दको शुरु र बीचमा ह्रस्व उकार ( ु ), अन्त्यमा दीर्घ ऊकार ( ू ) प्रयोग गर्ने निर्णय लियो ।

त्यस्तै, थारू मौलिक शब्दमा ह्रस्व प्रयोग गर्ने । आगन्तुक शब्दमा स्रोेतभाषाको लेखन प्रणालीअनुसार ह्रस्व र दीर्घ दुवै प्रयोग गर्ने । थारू मौलिक शब्दमा संयोजकको प्रयोग गर्दा काहेकि, तर, मने, मुले, काखरेकि, व, वा, ओ, तबमारे, ओह ओरसे, ओहमार, कि, तौनफे, वा, लेकिन, मनो, क्याम्की, टभुफे, नै टो, हे, तथा, आर, तयो, महज, ताकि, मतर, और, हसे, नै ते, तौन, तौना, फिर, काकरेकि, कणिलेकि, कथिलेत, जब, तब, वकिन, आ, अउर, मगर, अगर, स्वयम्मे, या त, तैयौ लगायत थारू समुदायमा प्रचलित संयोजकहरूको प्रयोग गर्ने निर्णय लियो । सोहीअनुसार संयुक्त क्रियापद जोडेर (पदयोग) लेख्ने, तर आवश्यकताअनुसार पद वियोग गर्ने (छुट्याएर लेख्ने) पनि निर्णय लियो ।

निस्कर्ष
थारू भाषा मानकीकरणको प्रयास हुनु आफैमा राम्रो पक्ष हो । तर मानकीकरण गर्दा एउटा साझा थारू भाषाको मानकीकरण गर्नु नै प्रमुख उद्देश्य हो । यसले थारू समुदायलाई जोड्ने काम गर्छ । भाषाका कारण थारू समुदाय टुट फुटको अवस्थामा पुग्यो भने दूरगामी असर पर्छ । तेरो मेरो भावना जागृत गर्छ । त्यसैले पनि थाकसले लिएको संयुक्त प्रयास नै अहिलेका लागि सुझबुझपूर्ण प्रयास मान्न सकिन्छ ।

मानकीकरण गर्ने विषय भाषा वैज्ञानिक आधारमा गर्ने विषय त हो नै, सँगसँगै सामाजिक विषय पनि हो । समाजको चाहना, सहमति, मान्यता र इच्छाशक्तिका आधारमा मानकीकरण गर्नु नै श्रेष्ठकर हुन्छ । त्यसरी बनाइएको मानकको व्यवहारिक कार्यान्वयनमा पनि सहज हुन्छ । मानकीकरणमा समाजको सामाजिक, राजनीतिक, भौगोलिक, जनसांख्यिक र ऐतिहासिक पक्ष पनि जोडिएका हुन्छन् । मानकीकरण आफैमा जटिल काम हो । यो चलिरहने प्रक्रिया पनि हो । एक पटक मानकीकरण गरिसकेपछि सबै काम सकियो भनेर मान्न सकिदैन । यो समयअनुसार परिमार्जन हुँदैजान्छ । सर्वस्वीकार्य बनाउन नसके पनि बहुसंख्यकलाई स्वीकार्य हुनेगरी मानकीकरण गर्न सक्नु नै सफलता हो । थारू समुदायको भाषा मानकीकरणको प्रक्रिया जारी छ । यद्यपि वर्ण निर्धारण कार्यले लेखन शैलीको आधार भने तयार गरेको छ । वर्ण निर्धारण र त्यसको सामान्य सिद्धान्तसम्मको छलफल र सहमति बनेको छ । मानकीकरणका धेरै काम गर्न बाँकी छ । थारू समुदायका अगुवा, भाषाप्रेमी तथा बुद्धिजिवीले यस पक्षमा ध्यान दिन सक्नुपर्छ ।

थारू भाषा मानकीकरण गर्ने सवाल अनेक जिज्ञासा र प्रश्नले घेरिएको छ । कतिपयले बुझेर प्रश्न उठाएका छन्, कतिले नबुझेर । कतिले आफ्नो स्वार्थ र पहिचानका लागि प्रश्न उठाएका छन् । पश्चिमदेखि पूर्वसम्म थारू समुदायमा अनेक भेद (भाषिका) छ । सबैलाई आफ्नो जनजीव्रोको भेद मन पर्छ । त्यसैलाई नै मानकीकरण गर्नुपर्छ भन्ने चासो हुनु अस्वभाविक होइन । तर थाकसले सबै भाषिकाको सम्मान हुनेगरी बीचको बाटोबाट मानकीकरणको प्रयास थालेको छ । जनसंख्याको हिसावले चितवन पश्चिममा करिब बाह्र लाख थारू को जनसंख्या छ । चितवन पूर्वमा करिब साढे ६ लाख थारू छन् । बहुसंख्यक थारू ले बोल्ने भाषिकालाई आधार मानेर मानकीकरण गर्न पनि सकिन्थ्यो । तर थाकसले त्यसो गरेन । सबै ठाउँको भाषिकालाई सम्मान गर्ने ध्येयले बीचको बाटोबाट मानकीकरणको प्रयास थाल्यो । यसले केही चुनौति र जटिलता त ल्याउला । तर सबैलाई स्वीकार्य हुने मानक बनेमात्र त्यसको व्यवहारिक प्रयोग सहज हुन्छ । थाकसको संयुक्त गोष्ठीमा २४ जिल्लाका थारू ले साझारुपमा छलफल गरी सर्वसम्मत रुपले बाह्र बुँदे प्रारम्भिक सहमति गरेका छन् । सो सहमतिले थारू को साझा वर्ण निर्धारणको काम फत्ते गरेको छ । मानकीकरणको बाँकी काम पनि यसैगरी सहज र सबैलाई स्वीकार्य हुनेगरी गर्न सकेमा थारू भाषा मानकीकरणको चुनौतिपूर्ण सवाल अवसरमा परिणत हुनेछ ।

(लेखक थाकस अन्तर्गत गठित थारू मानक भाषा मस्यौदा समितिका सचिव हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया