थारु अटवारी पर्व २०७८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम


हमार पहुरा डट कम
वर्दिया, भदौ २६ गते । वर्दियाको जोतपुर गाउँबासीले अटवारीको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जंग्रार साहित्यिक बखेरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले थारुको पहचिान जोगाउने पर्व अटवारीको गरिमालाई बढाउन अझ खोज अनुसन्धानमा जोड दिने बताउनुभयो ।

पूर्वमन्त्री तथा लेखक डा. गोपाल दहितले थारु समुदाय संस्कार र संस्कृतिमा धनी भएपनि त्यसको संरक्षण र पुस्तान्तरणमा समस्या रहेको बताउनुभयो । परम्परागतरुपमा मनाइँदै आएपनि थारु पर्वको पर्वको महत्व र ऐतिहासिकताको बारेमा खोज गर्न आवश्यक रहेको बताउनुभयो । कृष्णजन्माष्टमी पछिको उज्यालो पहिलो आइतबार बर्का अटवारीको रुपमा मनाउने गरिएको उहाँले प्रसङ्ग जोड्नुभयो । थारु समुदायमा तीथि नहुने हुनाले बारको हिसावले मनाउने गरिएको उहाँले बताउनुभयो ।

दशौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म दाङमा थारु राजा दंगीशरणले राज्यगरेको प्रमाण फेला परेको चर्चा गर्नुहुँदै डा. दहितले अटवारी पर्वको शुरुवात र दंगीशरणको राज्यकाल फरक रहेको बताउनुभयो । आजभन्दा चार हजार वर्षपहिले सत्य युगमै महाभारतको प्रसङ्ग रहे पनि दंगीशरणको राजकाल करिब दुई हजार वर्ष पहिले मात्र गर्नुभएको उहाँले बताउनुभयो । महाभारतका पात्र पाँच पाण्डवको जीवन कथासँग मिल्ने प्रसङ्ग अटवारीमा भएको पनि उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा लेखक तथा साहित्यकार सुशील चौधरीले थारु अटवारी पर्वको महत्वका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । थारुको मौलिक पर्व अटवारीको प्रवद्र्धनमा थारु स्वयम् जुट्नुपर्ने र सरकारले संरक्षणमा सहयोग गर्नुपर्ने बताउनुभयो । थारु समुदायमा पुरुषले व्रत बस्ने पर्व र महाभारत प्रसङ्गसँग जोडिने ऐतिहासिक पर्व भएकाले त्यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । थारु बड्कीमारले थारुको इतिहास बोकेको भन्दै उहाँले त्यसको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

थारु कल्याणकारिणी सभा (थाकस) का सहमहामन्त्री मिनराज चौधरीले थारुको संस्कृति संस्कार जगेर्नामा राज्यले लगानी नढाएको बताउनुभयो । भाषा, संस्कृतिको संरक्षणमा पनि पनि राज्यले विभेदकारी नीति अवलम्बन गरेको बताउनुभयो । थारुको भाषा, संस्कृतिको संरक्षणमा राज्यको लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । थारु बरघरिया, सुडेनीहरुलाई प्रथाजनित कानुनको व्यवस्था गरेर संरक्षण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
यूनिक नेपालका जिल्ला अध्यक्ष क्रिमबहादुर चौधरीले थारु देवतालाई छाड्दै जानु विडम्बना भएको बताउनुभयो । आफ्नो देवतालाई त्याग्दैजाने, अरुको देवतालाई मान्दै जाने हो भने थारुको पहिचान लोप हुने उहाँले बताउनुभयो । थारु समुदायको नाचगान, माण्दलको ताल (खोट) समेत हराउँदै गइरहेको उहाँले चर्चा गर्नुभयो ।

बखेरीका अध्यक्ष सोम डेमनडौरा थारुको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले थारु संस्कृतिको संरक्षणमा युवा पुस्ताले ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया