प्रदेश १ र २ मा गरिएको सिफारिस विभेदपूर्ण भएको ठहर, थारु भाषा राख्न माग


हमार पहुरा डट कम
काठमाडौं, भदौ २९ गते । थारु समुदायका अगुवाहरुले प्रदेश सरकारमा सरकारी कामकाजको भाषा प्रयोग गर्ने भनी भाषा आयोगले सरकारलाई गरेको सिफारिस विभेदपूर्ण रहेको भन्दै प्रदेश १ र प्रदेश २ मा पनि थारु भाषालाई सरकारी कामकाजको रुपमा सफारिस गर्न माग गरेका छन् ।

भाषा आयोगले भदौ २१ गते सरकारलाई प्रतिवेदन पेश गर्दै ११ वटा भाषालाई प्रदेशस्तरमा सरकारी कामकाजी भाषा प्रयोग गर्न उपयुक्त हुने भन्दै सिफारिस गरेको थियो । सिफारिसमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा थारु भाषा सिफारिसमा परे पनि प्रदेश १ र प्रदेश २ मा समेत थारु भाषीहरु ३ प्रतिशतभन्दा बढी भएकाले सरकारी कामकाजी भाषामा प्रयोग गर्न थारु अगुवाहरुले माग गर्नुभयो ।

आयोगले गरेको सिफारिसमा प्रदेश १ मा मैथिलि र लिम्बु, प्रदेश २ मा मैथिलि, भोजपुरी र बज्जिाका, बागमतिमा तामाङ र नेवार, गण्डकीमा मगर, गुरुङ र भोजपुरी, लुम्बिनीमा थारु र अवधि, कर्णालीमा मगर र सुदूरपश्चिममा डोट्याली र थारु रहेका छन् । आयोगले भदौ २१ गते सरकारलाई सिफारिस सहितको प्रतिवेदन बुझाएको थियो ।

थारु कल्याणकारिणी सभा (थाकसं) मातहत गठित थारु मानक भाषा मस्यौदा समितिको आयोजनामा मंगलबार भएको भर्चुवल छलफलमा थारु अगुवाहरुले सो माग गर्नुभएको हो । भाषा आयोग तथा सरकारसँग सो माग पूरा गराउन संस्थागत पहल गर्न पनि अगुवाहरुले सुझाव दिनुभयो ।

कार्यक्रममा कार्यपत्र पेश गर्नुहुँदै भाषाविज्ञ महेश चौधरी (सप्तरी) ले भाषा आयोगले सरकारी कामकाजी भासाको सिफारिस गर्दा विभेद गरेको बताउनुभयो । पूर्वमा बोल्ने थारु भाषालाई मैथिली भाषाको संज्ञा दिंदै थारु भाषीमाथि विभेद गरिएको उहाँले टिप्पणी गर्नुभयो । थारु भाषा त्यहाँको मूल भाषा भएको र मैथिलि भाषीहरु पछि मात्र त्यहाँ आएको उहाँको भनाई छ ।

थारु भाषा तराईको प्राचीन भाषा भएकाले पछिबाट आएका भाषीहरु थारु भाषाबाटै प्रभावित रहेको उहाँले बताउनुभयो । मूल भाषालाई अरु भाषाबाट प्रभावित भएको भनी विश्लेषण गर्नु गलत भएको भन्दै उहाँले प्रदेश १ र प्रदेश २ मा थारु भाषीको संख्याको आधारमा सरकारी कामकाजी भाषा सफारिस गर्न अनिवार्य रहेको बताउनुभयो । राजनीतिक पूर्वाग्रह र विभेदपूर्ण व्यवहारका कारण थारु भाषा सिफारिसमा नपरेको उहाँले बताउनुभयो ।

थारु आयोगका सदस्य भोलाराम चौधरीले प्रदेश १ र प्रदेश २ मा थारु भाषामाथि अन्याय भएको बताउनुभयो । राजनीतिक पूर्वाग्रह र थारुमाथि गरिने गलत सोच शैलीका कारण प्रशस्त आधार हुँदाहुँदै भाषा सफारिसमा नपरेको उहाँले बताउनुभयो । प्रदेश १ र प्रदेश २ मा थारु भाषालाई सिफारिसका लागि राजनीतिक तथा सामाजिक रुपमा दवावको खाँचो रहेको उहाँले औल्याउनुभयो । थारुहरुले भाषिकालाई भन्दा पनि मूल भाषा ‘थारु भाषा’को वकालतमा लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

ठाउँ र जिल्लाअनुसार विभिन्न नाम दिइए पनि थारु भाषा एउटा मूल भाषा हो भन्ने सन्देश दिन आवश्यक रहकेो भन्नुहुँदै उहाँले राना, कठरिया, चितवनीया, डंगौरा, पूर्वीया, मोरङिया, कोचिला भाषी भन्दै थारुलाई फुटाउने षडयन्त्रमा सरकार लागेको पनि बताउनुभयो । जो जहाँ रहेपनि, जो जहाँ बोले पनि थारु भाषा नै बोल्ने गरेकाले एउटा थारु भाषाको वकालत सबैले गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

थारु आयोगका अर्का सदस्य सुवोधसिंह थारुले जनगणना र तथ्याङ्कमा थारुहरु सचेत हुनुपर्ने बताउनुभयो । थारुको विभिन्न थर र उपथर भएकाले सोअनुसार थर लेख्दा थारु र गैरथारु भनेर छुट्याउन समस्या भएको भन्दै उहाँले आगामी जनगणनामा आफ्नो थरको पछाडि अनिवार्य रुपमा थारु लेख्न सुझाव दिनुभयो । बडायक, महतो, चौधरी, राजवंशी, कुश्मी, डेमनडौरा, कठरिया, सोनाहा, गौतम आदि फरक फरक थर लेख्दा थारुको वास्तविक तथ्याङ्क आउन नसकेको उहाँको सुझाव छ ।

थारु मानक भाषा मस्योदा समितिका संयोजक कुछतनारायण चौधरीले २०६८ को जनगणनामा थारु समुदायको तथ्याङ्क छुट भएकाले आगामी जनगणना २०७८ शुरु हुन गइरहेकाले त्यसमा अनिवार्य रुपले नामको पछाडि थारु लेख्न सुझाव दिनुभयो । तथ्याङ्कको विषय अधिकारसँग जोडिएकाले सही र वास्तविक तथ्याङ्कका लागि नामको पछाडि थारु लेखाउन जरुरी रहेको उहाँले बताउनुभयो । प्रदेश १ र प्रदेश २ मा थारुको जनसंख्याभन्दा कम जनसंख्या देखाएर तथ्याङ्क विभागले त्रुटी गरेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा थारु विज्ञहरु रामबहादुर चौधरी (कैलाली), भुलाई चौधरी (सप्तरी), रामसागर चौधरी (सुनसरी), श्रवण चौधरी (थरुहट मोर्चा), बुद्धसेन चौधरी, नन्दलाल चौधरी (सप्तरी), लाहुराम चौधरी (कैलाली) लगायतले थारु भाषाको विकास र उत्थानमा थारुहरुको सक्रियताको प्रसंशा गर्दै आगामी जनगणनामा सबैले सहभागी हुने र नामको पछाडि अनिवार्य ‘थारु’ लेख्न सुझाव दिनुभयो ।

थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछतनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सहसंयोजक बुद्धसेन चौधरीले गर्नुभयो भने कार्यक्रमको सञ्चालन सचिव लक्की चौधरीले गर्नुभयो । भर्चुवल कार्यक्रमका लागि जुम स्पेस अनिलदत्त चौधरी (वर्दिया) ले गर्नुभयो भने होष्ट सञ्चालन जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा थारुले गर्नुभयो । कार्यक्रम दिउँसो १२ देखि साढे ३ बजेसम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया