
हमार पहुरा डट कम
काठमाडौं, असोज ६ गते । प्रेस काउन्सिल नेपालले आफ्नो ५२ औं वार्षिकोत्सवको अवसरमा ३४ जना पत्रकारलाई सम्मानित गरेको छ । सो अवसरमा पत्रकार लक्की चौधरी प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभयो । पुरस्कारको राशी नगद २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीसहित पुरस्कृत सबै ३४ जना पत्रकारलाई सम्मानित गर्नुभयो । उहाँले पुरस्कृत तथा सम्मानित सबैलाई बधाई ज्ञापन गर्नुभयो ।
सोहीअनुसार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारले पुरस्कृत गरेको छ । पुरस्कारको राशी एक लाख ५० हजार रुपियाँ नगद तथा सम्मानपत्र रहेको छ । त्यस्तै वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’लाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कारको राशी एक लाख १० हजार नगद र सम्मानपत्र रहेको छ ।
त्यस्तै, अन्य पत्रकारमा विमल गौतम, दुर्गालाल केसी, माधव नेपाल, विन्दुकान्त घिमिरे, जमुना वर्षा शर्मा लगायत पत्रकार सम्मानित हुनुभयो । त्यस्तै, प्रेस काउन्सिलले उत्कृष्ट चारजना कर्मचारीलाई पनि सम्मानित गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र सञ्चार एकअर्काको परिपुरक रहेकाले सञ्चारजगत जिम्मेवार र निश्पक्ष हुनुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२ औं वार्षिकोत्सवको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
लोकतन्त्रको समुन्नत विकासका लागि सूचनाको हक अपरिहार्य रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले जनताप्रति जवाफदेही सरकार नै लोकतन्त्रको परिसूचक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रतालाई नेपालको संविधानले नै सुनिश्चित गरेकाले सरकार पनि प्रेस स्वतन्त्रतामा ध्यान दिनुपर्छ ।”
सरकारको सहयोगमा प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयको निर्माण गरिरहेकोप्रति खुशी व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यसले नेपाली पत्रकारिताको इतिहास संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार जगत पनि आचारसंहिताको परिपालना गरी सत्य तथ्य समाचार सम्प्रेषण गरी जवाफदेहिता प्रकट गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडियाको विकास भएको देशमा नागरिक सचेत हुने बताउनुभयो । प्रेस जगतले अरुलाई बाटो देखाउने काम गर्ने हुनाले पत्रकार जिम्मेवार हुनुपर्ने उहाँले सुझाउनुभयो । नेपालमा अझै मर्यादित पत्रकारिताको खाँचो रहेको चर्चा गर्नुहुँदै उहाँले प्रेस काउन्सिल नेपाललाई त्यसको नियमन गर्न आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले प्रेस काउन्सिल नेपाल नेपाली प्रेस जगतको अभिभावक संस्था भएकाले प्रेसलाई जिम्मेवार बनाउने भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । अग्रज पत्रकारले दोस्रो तहका पत्रकारलाई पनि मार्ग निर्देश गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली प्रेसको बृहत्तर हितका लागि काउन्सिल क्रियाशील रहेको बताउनुभयो । न्यू मिडियाको विकासले समाजमा खुशी र चुनौति दुवै थपिएको भएपनि काउन्सिलले मिडियालाई व्यवस्थित र जिम्मेवार बनाउन नियमन गरिरहेको बताउनुभयो ।




