हमार पहुरा डट कम
काठमाडौं, असोज १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले राजिनामा पेश गर्नुभएको छ । आज विहिबार दिउँसो लोसपा अध्यक्षलाई सम्बोधन गरी नेता लेखीले सो दलको सबै पदबाट राजिनामा दिएको बताउनुभएको हो ।
नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने आफूले तयारी गरेकाले पद र जिम्मेवारीबाट राजिनामा दिएको बताउनुभयो । २०६५ मा थरुहट आन्दोलन सफलरुपमा नेतृत्व गरेर थारु नेताको पहिचान बनाउनुभएका नेता लेखी पछिल्लो समय मधेसवादी दलमा आवद्ध रहँदै आउनुभएको थियो ।
यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) मा रहनुभएका लेखी पार्टी फुटेपछि लोसपामा लाग्नुभएको थियो । केही समय नेकपा (एमाले) बाट राजनीति गर्नुभएका नेता लेखी नेपाल नागरिक पार्टी पनि एक वर्षसम्म सञ्चालन गर्नुभएको थियो ।
नेता लेखीले राजिनामापत्रमा लेख्नुभएको छ, “म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहीरहेकोमा अव नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजिनामा गर्दछुँ ।”