पितृको स्मरण गर्दै थारु समुदायले यमोसा (पितृऔंशी) पर्व धुमधाम मनाउँदै


कारी महतो
चितवन, असोज २० गते । चीतवन र नवलपुरका थारु समुदायले मनाउने यमोसा पर्व यस वर्ष चितवनको विभिन्न थारु संघ संस्थाहरुले सामूहिक रुपमा मनाइरहेका छन् । थारु कल्याणकारिणी सभा चितवन, थारु पत्रकार संघ चितवन, थारु महिला सभा चितवन, थारु बुद्धिजीवी सभा, थारु युवा सभा, थारु कलाकार सभा, थारु विद्यार्थी समाज लगायत संघ संस्थाहरुले सामूहिक रुपमा यमोसा विशेष कार्यक्रम गरी पर्व मनाउन लागुका हुन् ।

थाकस चितवनको कार्यालयमा बसेको सामूहिक बैठकमा उक्त निर्णय गरिएको थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । चितवन र नवलपुरका मूल आदिवासी थारु समुदायले साँस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔंसी लोप हुने अवस्थामा पुगेकोले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि चितवनको महत्वपूर्ण व्यक्तित्वहरुको सामूहिक उपस्थितिमा यमोसा पर्व मनाउने निधो गरेको सभापति चौधरीले बताउनुभयो ।

आदिमकालदेखि चितवन र नवलपुरका थारु समुदायले मनाउने साँस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानिय विदाको माग गरेका छन् । कतिपय स्कुल कलेजहरुले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनाले यमोसा पर्वको पुस्ताहस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारु अगुवाहरुको भनाई छ ।

के हो यमोसा पर्व ?
थारु समुदाय साँस्कृतिक सम्पदाले भरिपूर्ण भएको समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउ“छन् । हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” पर्व पनि एक हो । यमोसा पर्व चितवन र नवलपुरका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा बरखी समापन गर्ने गरिन्छ ।

कसरी मानाइन्छ ?
यमोसा पर्व चितवन र नवलपुरका थारु समुदायले दुई दिनसम्म धुमधामपूर्वक मनाउँछन् । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन छ ।
दोश्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आपूmले देखेका दाभी (सिरु) काटी ल्याउ“छन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोग गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।

पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । यदि त्यसवर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने गरिन्छ ।

छाकी चढाईसकेपछि मात्र खानपिन शुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आपूmले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाई काइ“योले कोरीदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन विद्हरई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ ।

यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरुले सा“झपख गाउ“को बाटोमा “म्वार्हा” गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउ“दै यमोसा खान्छन् । उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन् –
गीत नं. १

डौली डौली मोदवा देले दबकाई
बौरी बौरी मोदवा देले निसकाई
मोदहर्नी घुघल बाजे ……
गीत नं. २

भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ……
गीत नं. ३

पाता परैये गेल, भात परैये गेल,
दाली परैये गेल, मासु परैये गेल,
यौर परल गजमोती जेबहु“ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई……….

मौलिक थारु लोक गीतहरु, ती म्वार्हा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारुको जनसंख्या करीब २ लाख हाराहारीमा छ । तर यो ठूलो जनसंख्याका साँस्कृतिक पर्वहरुलाई नेपाल सरकारको साँस्कृतिक नीति तथा कार्यक्रमले अझै मान्यता दिन सकेको छैन । सरकारले उनीहरुलाई अन्य समुदायको पर्व मनाउन बाध्य पारेको छ तर उनीहरुकै मौलिक पर्व मनाउने वातावारणको सृजना गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया