सानो दलमा रहेर थारु समुदायको मुद्दा सम्बोधन गराउन सम्भव छैनः नेता लेखी


हमार पहुरा डट कम
काठमाडौ, असोज २३ गते । नेकपा (एमाले) का नेता तथा थारु कल्याणकारिणी सभा (थाकस) का पूर्व महामन्त्री राजकुमार लेखीले सानो दलमा रहेर थारुको माग मुद्दा सम्बोधन गराउन सम्भव नभएकाले ठूलो दलमै रहेर सम्बोधनको प्रयास गर्नु उचित रहेको बताउनुभएको छ ।

हमार पहुरा डट कमसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता लेखीले अब क्षेत्रीय सानो दलको राजनीतिक भविष्य नरहेको बताउनुभयो । आफ्नो जन्म नै एमालेमा भएकाले पुनः आठ वर्षपछि एमालेमै समाहित भएको चर्चा गर्नुहुँदै नेता लेखीले अवका दिनमा एमालेमै रहेर राजनीतिक जीवन अघि बढाउने बताउनुभयो । २०६९ जेठ १६ गते तत्कालिन एमालेबाट आफूले राजिनामा दिएको र २०७८ असोज १७ गते पुनः एमालेमै प्रवेश भई राजनीतिक जीवन अघि बढाउने निर्णय लिएको चर्चा गर्नुभयो ।

थारु समुदायको माग मुद्दा सम्बोधन गराउन चुनौति रहेको भएपनि ठूला राजनीतिक दलभित्रै शक्ति बनाएर दललाई कन्भीन्स गरी समस्या समाधान गर्न सहज हुने उहाँले बताउनुभयो । टीकापुर घटनापछि थारु माथि लागेको मुद्दा फिर्ता गराउन र समस्या समाधान गर्न पनि थारुको पहलले मात्र सम्भव नरहेको उहाँले बताउनुभयो । ठूला दललाई सहमत गराएर दलीय हिसावले नै समस्या समाधान सम्भव रहेको उहाँले बताउनुभयो ।

मलाई अवसरवादी भन्नेहरु कुनै न कुनै दलका कार्यकर्ताहरु हुन्, उनीहरुको दलमा नगएपछि विरोध गरेका हुन् ।

यसअघि आफू राजपा, लोसपामा रहेर पनि रेशमलाल चौधरीसहित थारुमाथि लागेको मुद्दा खारेज गराउन र मुद्दा फिर्ताको पहल गरेपनि सम्भव नभएको चर्चा गर्नुहुँदै नेता लेखीले एमालेमा रहेर पनि त्यो मुद्दा समाधानका लागि निरन्तर पहल लिने प्रतिवद्धता जनाउनुभयो । जसपा पार्टीमा रहँदा पनि त्यसमा निरन्तर प्रयास भएको भएपनि ठूला दल सहमत नभएकै कारण समस्या समाधान नभएको उहाँले बताउनुभयो ।

एमालेको प्रशिक्षण र स्कूलिङले आफूमा राजनीतिक चेतको विकास भएको चर्चा गर्नुहुँदै नेता लेखीले एमालेजस्तो आन्तरिक खुला वहस, छलफल र प्रशिक्षण अन्य कुनै दलमा नरहेको बताउनुभयो । एमालेको प्रशिक्षणकै परिणाम आफू थाकसमा रहँदा र नेपाल आदिबासी जनजाति महासंघको नेतृत्वमा रहँदा सांगठनिक काम चुस्तरुपले गर्न सकेको उहाँले स्मरण गर्नुभयो । एमालेकोजस्तो जनताबीच सांगठनिक पकड अन्य कुनै दलको नरहेकाले आगामी निर्वाचनबाट पनि एमाले नै पहिलो दल बन्ने उहाँले दावी गर्नुभयो ।

आफू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजिनामा दिएपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो दलमा आउन अफर गरे पनि आफू एमाले रोजेको उहाँले प्रष्ट पार्नुभयो । लोसपा त्यागेर एमालेमा प्रवेश गरेपछि कतिपयले अवसरवादीको आरोप लगाए पनि आफू त्यस्तो नभएको उहाँले प्रष्ट पार्नुभयो ।

“अवसरवादी भएको भए एमाले सत्तामा छँदा नै प्रवेश गर्थे, त्यतिबेला प्रवेश गर्दा केही न केही लाभको पद तत्काल पाउन सक्थें, तर त्यसो गरिनँ, एमाले प्रतिपक्षी दलमा पुगेपछि पार्टी प्रवेश गरें” उहाँले भन्नुभयो, “मलाई अवसरवादी भन्नेहरु कुनै न कुनै दलका कार्यकर्ताहरु हुन्, उनीहरुको दलमा नगएपछि विरोध गरेका हुन् ।” आफू जहाँ र जुन दलमा रहेपनि थारु, आदिबासी जनजातिको मुद्दालाई नै प्राथमिकतामा राखेर काम गर्ने नेता लेखीले बताउनुभयो ।

मधेसमा मधेसी दलहरु शक्तिको रुपमा उडाएजस्तै थरुहटमा थारु दल वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न सक्ने सम्भावना रहेपनि थारुहरुबीच त्यो राजनीतिक चेत अझै नआएको उहाँले बताउनुभयो । थारुबीच एकता हुन र मुद्दामा सहकार्य गर्न निकै चुनौति रहेको बताउनुहुँदै नेता लेखीले सानो शक्तिले समस्या समाधान सम्भव नरहेको बताउनुभयो । एकले अर्काको विरोध गर्ने प्रबृत्ति थारु नेतामा बढी रहेकाले पनि एकता कठिन रहेको उहाँले टिप्पणी गर्नुभयो ।

मुखले भन्ने र व्यवहारमा गरेर देखाउने कुरा फरक भएकाले ठूलो दलका नेतालाई सत्तोसराप गाली गर्ने साना दलका नेताहरु अवसर पाउँदा त्यही गल्ती गर्नेगरेको उहाँले सुनाउनुभयो । नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले आफ्ना आफन्तहरुलाई राजनीतिक अवसर दिंदा गाली गर्ने मधेसवादी नेताहरु अवसर पाउँदा आफ्नै श्रीमती, छोराछोरीलाई अवसर दिने गरेको उहाँले बताउनुभयो ।

नेता लेखी एमालेको विधान महाधिवेशनको अन्तिम दिन असोज १७ गते दलबलसहित एमालेमा प्रवेश गर्नुभएको थियो । नेपाली राजनीतिमा थारु नेताहरु स्थापित भएपनि थारुको मुद्दालाई केन्द्रमा राखेर राजनीति नगरेकै कारण थारुको माग सम्बोधन हुन नसकेको उहाँको भनाई छ । नेपाली काँग्रेसमा रहेर स्थापित राजनीति गर्नुभएका विजयकुमार गच्छदारले थारुको मुद्दालाई कहिल्यै केन्द्रमा नराखेको उहाँले टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया