फोनिजको सातौं महाधिवेशन माघ ७ र ८ गते गर्ने ककनी बैठकको निर्णय


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १० गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन आगामी माघ ७ र ८ गते गर्ने तय भएको छ । नुवाकोटको पर्यटकीय क्षेत्र ककनीमा बुधबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सो मिति तय गरेको हो ।

बैठकको निर्णयअनुसार प्रदेश अधिवेशन आगामी पुस २४ गते एकै दिन सम्पन्न गर्ने, जिल्ला अधिवेशन मंसिर २५ गते एकै दिन सम्पन्न गर्ने निर्णय भएको छ । केन्द्रीय महाधिवेशनको स्थान छनौट गर्ने जिम्मेवारी संघीय सचिवालयलाई दिने बैठकले अधिकार प्रत्यायोजन गरेको छ । त्यस्तै, आगामी मंसिर १५ गतेसम्म सदस्यता नविकरण, वितरण तथा जिल्ला शाखा विस्तार गर्ने निर्णय बैठकले गरेको छ ।

फोनिज अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बसेको बैठकले संघीय समिति, प्रदेश अध्यक्ष, आठ जातीय संगठनका अध्यक्ष तथा महाधिवेशन आयोजना हुने प्रदेशका जिल्ला शाखाका अध्यक्षसमेत रहनेगरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

फोनिजको देशघर ५४ जिल्ला शाखा, सात प्रदेश समिति, ६ वटा प्रवास शाखा रहेका छन् । फोनिजमा देशभरका गरी करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । त्यस्तै, आठवटा जातीय पत्रकार संस्थाहरुमा थारु, मगर, गुरुङ, लिम्बु, शेर्पा, राई, नेवार र तामाङ फोनिजमा आवद्ध छन् । आगामी महाधिवेशनसम्म शाखा विस्तार भई करिब ६० जिल्ला शाखा पुग्ने फोनिजको भनाई छ ।

बैठकमा नुवाकोट निर्वाचन क्षेत्र न. १ का प्रतिनिधिसभा सदस्य हितमान तामाङले आदिबासी जनजातिको अधिकार अझै सम्बोधन हुन बाँकी रहेकाले संगठित रुपमा संघर्षको खाँचो रहेको बताउनुभयो । संविधानमा उल्लेखित अधिकार समेत कार्यान्वयन हुन बाँकी रहेको उहाँले चर्चा गर्नुभयो । आदिबासी जनजाति आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको उहाँको भनाई छ । नुवाकोटको ककनीमा फोनिजले बैठक राखेर यस क्षेत्रको प्रचार प्रसारमा सहयोग गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया