हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १६ गते । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) ले सात वटै प्रदेश सरकारका महिला सांसदको क्षमता अभिवृद्धिका लागि आयोजित ‘भर्च्ुअल अन्तरक्रिया कार्यक्रम’ आज सम्पन्न गरेको छ । कार्यक्रममा सांसदहरुले आदिबासी महिलाको पहुँच, पहिचान प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) अन्तर्गत संसद सहयोग परियोजनासँगको सहकार्यमा निफले कात्तिक १२, १३, १५ र १६ गते सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो ।
चार दिने अन्तरक्रियामा चार वटा विषयमाथि सम्बन्धित विषय विज्ञहरुले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन संविधानसभाका सांसद एवम् लैंगिक समानता र सामाजिक समावेशिता विज्ञ पेम्बा लामाले ‘लैङ्गिक प्रतिच्छेदनात्मक अन्तरसम्बन्ध’ बारे प्रस्तुति गर्नुभएको थियो । दोस्रो दिन अधिवक्ता डा. कुन्साङ योञ्जनले ‘स्व–निगरानी र स्व–मुल्याङ्कन’ विषयमा छलफल सञ्चालन गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको तेस्रो दिन ‘पारस्परिक सञ्चार र सम्झौता प्रक्रिया’ विषयमा सञ्चारकर्मी अमरध्वज लामाले अन्तरक्रियाको सहजिकरण गर्नुभएको थियो । चौथो तथा अन्तिम दिन योजनाविद् रामशरण प्याकुरेलले ‘व्यक्तित्व विकास’ बारे सहजिकरण गर्नुभएको थियो ।
नेपालको संघीय व्यवस्थालाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) सँगको सहकार्यमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संसद सहयोग परियोजनाका राष्ट्रिय कार्यक्रम व्यवस्थापक डा. राजबहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठले आगामी वर्षमा समेत यस किसिमका कार्यक्रमको आयोजनामा सघाउने योजना रहेको जानकारी दिनुभयो ।
त्यसैगरी संसदीय सहयोग कार्यक्रम (युएनडिपी) का संसदीय मामिला टोली प्रमुख डा. यामबहादुर किसान, निफका उपाध्यक्ष यशोकान्ती भट्टचन, महासचिव कृष्णकुमारी वाइवा लगायतले प्रदेशसभामा विभिन्न जाती र समुदायको महिलाको पहिचान, पहुँच र प्रतिनिधित्वलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा पूर्वमन्त्री करिना बेगम, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती (विष्ट) लगायत विभिन्न समुदायका ३० जना महिला सांसदहरुले अन्तरक्रियामा भाग लिनुभएको थियो ।