
हमार पहुरा डट कम
काठमाडौं, मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित एमाले नेतृत्वको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताउनुभएको छ ।
नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । एमाले नेतृत्वको सरकार विरुद्ध सबै दलहरु लागेर कठपुतली सरकार निर्माण गरेको उहाँले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उहाँले दावी गर्नुभयो ।
“जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ” एमाले अध्यक्ष ओलीले थप्नुभयो, “अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।”
“सरकार बनाउने थलो संसद हो, सांसदको मतबाट सरकार गठन हुनेगर्छ तर यस पटक अन्तैबाट सरकार गठन भयो, परमादेशले सरकार बन्यो” अध्यक्ष ओलीले भन्नुभयो, “यो भन्दा ठूलो जनताको अपमान के हुन्छ ?, यो सरकारले केही काम गर्नेवाला छैन ।”
मन्त्री बनाउन, यसअघिको सरकारले नियुक्त गरेका राजदूत, कर्मचारी हटाउनमै वर्तमान सरकार व्यस्त रहेकाले जनताको पक्षमा काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । नेकपा (एमाले) विरुद्ध पाँच दलीय गठबबन्धन बनेको भएपनि यस्ता दश वटा दलको गठबन्धन बनेपनि एमालेलाई केही फरक नपर्ने उहाँले बताउनुभयो । “एमाले एक्लै सक्षम छ, आगामी निर्वाचनमा एक्लै चुनाव लडेर एमाले सम्मानजनक बहुमत ल्याएर देखाउँछ” अध्यक्ष ओलीले भन्नुभयो ।
नेपाली काँग्रेसको औला समातेर गठबन्धनमा सहभागी दलहरु निर्वाचनमा जाने बताए पनि काँग्रेसले धेरै समय औला समाएर हिडाउन नसक्ने उहाँले टिप्पणी गर्नुभयो । “काँग्रेसले निर्वाचनमा गठबन्धन गर्ने भनिसकेको छैन, तर अन्य दलहरुले काँग्रेससँग चुनावी गठबन्धन गर्ने कुरा गरिरहेका छन्, हेरम कहिलेसम्म औंला समाएर हिड्दा रहेछन्” उहाँले भन्नुभयो ।
काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गर्नुभयो । सभ्यता र संस्कृतिको उदगम देश नेपाल भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगम स्थल हो ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्बत् ११४२, छठ, तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले देशको शीर उँचो पार्नेगरी काम गरिरहेको बताउनुभयो । जीवित सम्पदाको संरक्षणमा महानगरले ध्यान दिएको चर्चा गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई साझा यातायातमा उपत्यकाभरि निःशुल्क यातायातको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपाल सम्बत्को शुरुवातकर्ता शंखधर साख्वा भएपनि उहाँलाई राष्ट्रिय विभूतिकोरुपमा स्थापित एमालेले गरेको बताउनुभयो । २०५५ सालदेखि नेपाल सम्बत्को अवसरमा एमालेले शुभकामना आदानप्रदान गर्दैआएको उहाँले बताउनुभयो ।
एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनको साराहामा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा १९ सय ९९ महाधिवेशन प्रतिनिधि र उदघाटन सत्रमा करिब पाँच लाख जनताको सहभागिता गराउने बताएको छ ।
६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई महाधिवेशनमा निम्ता
एमालेले दशौं महाधिवेशनका लागि ६० वटा अन्तर्राष्ट्रिय पार्टीहरुलाई निम्ता दिएको जनाएको छ । एमाले महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईकाअनुसार निम्ता दिएकोमध्येबाट केहीको प्रतिवद्धता आइसकेको बताउनुभयो । विश्वभर कोभिडको कहर बाँकी नै रहेकाले केही देशबाट प्रतिनिधि आउने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, देशभित्रको संघीय संसदमा रहेका सात वटा राजनीतिक दललाई महाधिवेशनको उदघाटनसत्रमा निम्ता गरेको एमालेले जनाएको छ । निम्ता गरिएको पार्टीमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), महन्थ ठाकुर नेतृत्वको लोसपा, उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल मजदूर किसान पार्टी, जनमोर्चा, राप्रपालाई निम्ता दिएको भएपनि माधवकुमार नेपाल नेतृत्वको दललाई भने निम्ता नदिइएको नेता भट्टराईले बताउनुभयो ।




