धनगढीका युवा नेता पाठकद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


हमार पहुरा डट कम
काठमाडौं, मंसिर ९ गते । नेकपा (एमाले) का युवा नेता कैलालीको धनगढी निवासी धर्मराज पाठकले एमालेको दशौं महाधिवेशनमा भूगोल (सुदूरपश्चिम) बाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंसिर १० देखि १२ गतेसम्म सुचारु हुने एमालेको दशौं महाधिवेशनमा युवा नेता पाठक केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । एमालेले बोकेको नीति र सिद्धान्तलाई व्यवहारिक कार्यान्वयनमा लगेर समाजवादसम्म पुग्ने लक्ष्यसाथ आफू केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

एमालेलाई वैचारिक हिसावले जुझारु र संगठनात्मक हिसावले सशक्त बनाउन युवाहरुको नेतृत्व आवश्यक रहेको चर्चा गर्नुहुँदै युवा नेता पाठकले आफू निर्वाचित भएमा पार्टी नेतृत्वमा आगामी दिनमा युवाको सहभागिता गराउन भूमिका खेल्ने बताउनुभयो ।

२०४५ देखि विद्यार्थी राजनीतिबाट सक्रिय रहनुभएका नेता पाठक २०४८ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको कैलाली बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । २०५० देखि २०५६ सम्म विद्यार्थी राजनीतिको केन्द्रीय नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएका पाठकले अनेरास्ववियूको सुदूरपश्चिम इन्चार्ज समेत भइसक्नुभएको छ ।

पछिल्लो समय विभिन्न सामाजिक संघ संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआउनुभएका युवा नेता पाठकले एमालेलाई सबैको साझा पार्टी बनाउन युवाको नेतृत्वदायी भुमिकाको खाँचो रहेको बताउनुभयो । आफूले पहिलो पटक केन्द्रीय सदस्यको उम्मेदवार भएकाले सहयोगको अपेक्षा पनि सबैसँग गर्नुभयो ।

तपाईको प्रतिक्रिया