केन्द्रीय सदस्यमा बढीभन्दा बढी आउने तयारीमा थारु नेता, छलफलमा व्यस्त


हमार पहुरा डट कम
काठमाडौं, मंसिर ११ गते । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनबाट बढीभन्दा बढी केन्द्रीय सदस्यमा आउनेगरी थारु प्रतिनिधिहरुले सक्रियता बढाउनुभएको छ । यद्यपि एमाले निर्वाचन आयोगले आचारसंहिता बनाई सामुहिक र जातीयरुपमा छलफल गर्न रोक लगाएको भएपनि थारु प्रतिनिधिहरुले केन्द्रीय कमिटीमा समेटिने प्रयासलाई जारी राख्नुभएको छ ।

एमालेले २ महिलासहित ६ जना थारु कोटाबाट केन्द्रीय सदस्य आउने व्यवस्था गरेपनि केही प्रतिनिधिहरुले खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । एमालेले सकेसम्म सर्वसम्मत रुपले केन्द्रीय कमिटी छनौट गर्नेगरी पदाधिकारी र सदस्य संख्या बढाउने निर्णय गरेको छ । विधान महाधिवेशनले यसअघि २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेपनि शुक्रबार मध्यराती बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय गरेको थियो ।

थारु नेताहरुमा शान्ता चौधरी, बैजनाथ चौधरी, नारदमुनी राना, गौरीशंकर चौधरी लगायतले थारु कोटामा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । त्यस्तै, नेताहरु भगवती चौधरी, गंगा थारु सत्गौंवा, राजकुमार लेखी लगायतले खुलाबाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । चितवनका नेता लालमणी चौधरी आफू अनुशासन आयोगको सदस्य भएकाले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी नदिने बताउनुभयो ।

एमाले नेतृ भगवती चौधरी र गंगा सत्गौंवा थारुले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने हमार पहुरा डट कमसँग बताउनुभयो । केन्द्रीय कमिटीमा आउने आकांक्षी थारु प्रतिनिधिहरु धेरै रहेकाले कोही कोटाबाट कोही खुलाबाट आउने तयारी भएको नेताहरुले बताउनुभएको छ । एमाले निर्वाचन आयोगले आज साँझसम्म उम्मेदवारी दर्ता गराउने र भोली आइतबार मतदान गराउने तयारी गरेको छ । तर नेतृत्व तहले उम्मेदवारी प्रक्रियाका लागि दिन लगाउने र सर्वसम्मत केन्द्रीय कमिटी चयन गरी घोषणा गर्ने तयारी गरेको नेता शंकर पोखरेलले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय सदस्य दिपक देवकोटाकाअनुसार यअसघि केन्द्रीय सदस्य रहेका कोहीलाई नहटाई, नयाँ अनुहारलाई थप गर्न केन्द्रीय सदस्यको संख्या बढाइएको बताउनुभयो । सर्बसम्मतरुपले केन्द्रीय कमिटी चयन गरी पार्टी एकताको सन्देश दिने तयारी पार्टीले गरिरहेको उहाँको भनाई छ । एमालेले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७ गरी १९ जना पदाधिकारी बनाउने निर्णय गरेको छ । त्यस्तै, केन्द्रीय कमिटी ३०१, स्थायी कमिटी ४५, पोलिटव्यूरो ९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया