हमार पहुरा डट कम
काठमाडौं, मंसिर १४ गते । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार सम्पन्न नेकपा (एमाले) को दशौं महाधिवेशनबाट संघर्षशील चार जना महिला नेतृहरु केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँहरु निर्वाचित भएसँगै आगामी महाधिवेशनमा एमालेको पदाधिकारीमा यी नेतृहरुको इन्ट्री हुने विश्वास थारु समुदायमा विश्वास पलाएको छ ।
उसो त पुरुषबाट पनि जुझारु र नेतृत्वदायी क्षमता भएका नेताहरु केन्द्रीय सदस्यमा पदार्पण गर्नुभएको छ । एमालेले दशौं महाधिवेशनबाटै आफ्नो विधानलाई समावेशी चरित्रको बनाएर र व्यवहारतः कार्यान्वयन गरेपछि आगामी दिनमा पुरुषभन्दा महिलालाई पदाधिकारीमा चाँडो प्रवेश पाउन सहज देखिएको धेरैको आँकलन छ ।
एमालेमा यसअघि पनि केन्द्रीय सदस्य रहिसक्नुभएका तथा पूर्व राज्यमन्त्री भगवती चौधरी (सुनसरी) एक संघर्षशील महिला नेतृ हुनुहुन्छ । उहाँबाट थारु समुदायले ठूलो आशा र भरोसा गरेको छ । आगामी महाधिवेशनमा उहाँको प्रवेश पदाधिकारीमा हुने विश्वास एमालेका थारु नेता तथा कार्यकर्ताहरुको पनि विश्वास छ । संविधानसभा सदस्य समेत रहिसक्नुभएका महिला नेतृ चौधरी स्नातकोत्तर गर्नुभएको छ । व्यवस्थापकीय ज्ञान पनि उहाँमा भएकाले उहाँबाट थारु समुदायले आशा गरेको छ ।
सोहीअनुसार अर्का संघर्षशील महिला नेतृ शान्ता चौधरी (दाङ) सबैमाझ लोकप्रिय हुनुहुन्छ । संविधानसभा सदस्यसहित एमाले केन्द्रीय सदस्य रहिसक्नुभएका नेतृ चौधरी अहिले एमाले संसदीय दलको सचेतकको जिम्मेवारीमा पनि हुनुहुन्छ । कमलरी जीवनबाट संघर्ष गर्दै राजनीतिमा उदाउनुभएका नेतृ चौधरी पनि आगामी महाधिवेशनबाट पदाधिकारीमा सहजै पदार्पण गर्न सक्ने विश्वास एमालेजनको छ ।
नेतृ चौधरी भन्नुभएको छ, “केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुँदा जिम्मेवारी थपिएको महशुस भएको छ । एमालेरूपी बिशाल जेटलाई सम्वृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पूर्याउने चालकदलको सदस्यको रूपमा आफू निर्वाचित भएको अनुभूति गरेकी छुँ ।” उहाँले अगाडि भन्नुभयो, “एमाले मेरोलागि विश्वबिधालय हो, यसका जुझारू नेता–कार्यकर्ता मेरा प्राध्यापक हुन् । मैले रोगभोक दुबै सहेकी छुँ । हन्डर ठक्कर झेलेकी छुँ । जीबनमा उतारचढाब देखेकी छु । अनेक आयाम र घुम्ति पारगर्दै यहाँसम्म आएकी छुँ । एमालेको आत्मसम्मानमा आँच आउने म केही काम गर्ने छैन ।”
अर्का नेतृ गंगा थारु सत्गौंवा (दाङ) उत्तिकै सम्भावना बोकेको नेतृ हुनुहुन्छ । लडाकु स्वभावकी थारु पनि यसअघि संविधानसभा सदस्य रहिसक्नुभएको छ । थरुहट राजनीतिबाट उदाउनुभएका थारु अहिले पनि प्रतिनिधिसभा सदस्य (समानुपातिक) हुनुहुन्छ । संविधानसभा सदस्य थरुहट तराई पार्टी नेपालको तर्फबाट रहनु भएपनि प्रतिनिधिसभा सदस्य एमालेबाट हुनुभएको हो । निडर र साहसिक पहिचान बनाउनुभएका सांसद थारुको पनि आगामी दिनमा पदाधिकारीमा आउने सम्भावना प्रबल रहेको थारु समुदायको बुझाई छ ।
सोहीअनुसार मञ्जुकुमारी चौधरी (उदयपुर) पनि एमाले पङ्तिमा राम्रो सम्भावना बोकेको उदयमान महिला नेतृ हुनुहुन्छ । उहाँ पनि केन्द्रीय सदस्य थारु कोटाबाट निर्विरोध निर्वाचित हुनुभयो । यसअघि शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका चौधरी पनि संविधानसभा सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । निकै संघर्षशील नेतृ चौधरीको पनि आगामी महाधिवेशनमा पदाधिकारीमा जानसक्ने प्रवल सम्भावना रहेको थारु अगुवाहरुको बुझाई छ ।