सुनसरीको दुहवीमा महिलाका लागि थारु आयोगको सशक्तिकरण कार्यक्रम


हमार पहुरा डट कम
सुनसरी, मंसिर २३ गते । थारु आयोगले थारु महिलाको सशक्तिकरणका लागि कानुनी जनचेतना तथा लैङ्गिक सचेतनासम्बन्धी दुई दिवसीय कार्यक्रम आयोजना गरेको छ ।

सुनसरीको दुहवीमा मंसिर २३ र २४ गते आयोजना हुने कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका महिलालाई प्रशिक्षणमार्फत सशक्तिकरण गराइने आयोगले जनाएको छ । विहिबारको कार्यक्रममा दुईजना विज्ञले कार्यपत्र प्रस्तुत गर्नुभएको आयोगका सदस्य भोलाराम चौधरीले जानकारी दिनुभयो ।

सुनसरीको दुहबीस्थित दिनेश स्मृति प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रममा करिब ७५ जना महिलाको सहभागिता रहेको आयोजकले बताएको छ । कार्यक्रमको उदघाटन आयोगका सदस्य भोलाराम चौधरीले गर्नुभएको थियो भने स्वागत आयोगका सदस्य सुबोधसिंह थारुले गर्नुभयो ।

आयोगका अर्का सदस्य शान्ति मोदी थारुले कार्यक्रमको औचित्यताबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभास भट्टराईले लैंगिक हिंसा न्युनीकरणसम्बन्धी परामर्शका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, मोरङ जिल्लाका महिला अधिवक्ता महेश्वरी चौधरीले विवाह, सम्बन्ध विच्छेद र सम्पति समबन्धी अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा फरवार्ड माइक्रो फाइनान्सका सिइयो आशनारायण चौधरी, थारु कल्याण कारिणी सभा मोरङगका जिल्ला सभापति प्रदिप भगत, थारु कल्याण कारिणी सभा सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरीलगायतका बुद्धिजीवी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी थारु महिलाहरुको तर्फबाट थारु महिला उत्थान समाजका अध्यक्ष सीता चौधरी थरुनी, गाउँपालिका सदस्य लक्ष्मी चौधरी लगायतका महिलाले थारु महिलाको अधिकार तथा सशक्तिकरणका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया