आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदै


हमार पहुरा डट कम
कोल्हवी बारा, मंसिर २५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आज देशभर जिल्ला शाखाको अधिवेशन सम्पन्न हुँदैछ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज शनिबार जिल्ला शाखाको अधिवेशन हुन लागेको हो ।

यसअघि नुवाकोटको ककनीमा आयोजित संघीय समितिको बैठकले मंसिर २५ गते एकै दिन सबै शाखाको जिल्ला अधिवेशन सम्पन्न गर्ने, पुस १७ गते एकै दिन प्रदेश कमिटीको महाधिवेशन सम्पन्न गर्ने र आगामी माघ ७ र ८ गते संघीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज जिल्ला शाखाको अधिवेशन सम्पन्न हुँदैछ । फोनिजको संघीय अध्यक्ष अहिले डण्ड गुरुङ रहनुभएको छ ।

यही क्रममा आज बारा शाखाको दोस्रो जिल्ला अधिवेशन पनि बाराको कोल्हवीमा सम्पन्न हुँदैछ । बारा शाखाका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा हुने कार्यक्रमका लागि फोनिजका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी कोल्हवी पुग्नुभएको छ । यसैगरी केन्द्रीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई जिल्ला अधिवेशन झापाको कार्यक्रममा भाग लिन त्यहाँ पुग्नुभएको छ । त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु आफूलाई पायक पर्ने जिल्लामा प्रतिनिधिकोरुपमा खट्नुभएको छ ।

आदिबासी जनजाति पत्रकारको छाता संगठन फोनिजमा अहिले देशभर ५६ जिल्ला शाखा छन् । ६ वटा विदेश शाखा छन् । ७ वटा प्रदेश कमिटी रहेको फोनिजमा देशभरबाट चार हजार बढी पत्रकार आवद्ध छन् । आदिबासी जनजातिको हक अधिकारको वकालत गर्ने, आदिबासी पत्रकारको क्षमता अभिबृद्धि गरी मेनस्ट्रिम मिडियामा प्रतिनिधित्व गराउने, नेपाली मिडियाको कन्टेन्ट समावेशी चरित्रको बनाउन फोनिजले स्थापनाकालदेखि पहल गर्दैआएको छ ।

फोनिजले ३७ सदस्यीय संघीय समिति, २१ सदस्यीय प्रदेश समिति र १३ सदस्यीय जिल्ला समिति रहने व्यवस्था गरेको छ । त्यस्तै तीन सदस्यीय लेखा समिति पनि संघीय महाधिवेशनबाट निर्वाचित गर्ने वैधानिक व्यवस्था छ । वि.सं. २०५६ साउन २७ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको फोनिजको शाखा विस्तारको काम जारी रहेको छ । केन्द्रीय महाधिवेशनसम्म करिब ६० जिल्लामा फोनिज विस्तार हुने विश्वास फोनिजको छ ।

तपाईको प्रतिक्रिया