काँग्रेस महाधिवेशन : सहमहामन्त्री र चार केन्द्रीय सदस्यमा थारु नेता सुनिश्चित


हमार पहुरा डट कम
काठमाडौं, मंसिर २५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं महाधिवेशनको दोस्रो दिन आज मनोनयन दर्ताको काम हुँदैछ । महाधिवेशनमा थारु नेताहरु पनि होमिनुभएको छ । नेता विजयकुमार गच्छदार उपसभापतिको आकांक्षी हुनुहुन्छ ।

त्यस्तै अन्य थारु नेताहरुमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बाँकी नेताहरु केन्द्रीय सदस्यका दौडमा हुनुहुन्छ । डा. गोपाल दहित, रामजनम चौधरी, योगेन्द्र चौधरी, नवोदिता चौधरी, जीवन राना लगायतका नेताहरु चुनावी मैदानमा हुनुहुन्छ । काँग्रेसभित्र विभिन्न खेमा रहेकाले थारु नेताहरु पनि खेमाअनुसार उम्मेदवारी दिने बताउनुभएको छ ।

काँग्रेस महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । त्यस्तै, कोषाध्यक्षलाई केन्द्रीय कमिटी बैठकबाट चयन गर्ने काँग्रेसको वैधानिक व्यवस्था छ । त्यस्तै, काँग्रेसको महाधिवेशनमा सोमबार २७ गते विहान ८ बजेदेखि मतदान कार्यक्रम रहेको सो दलले जनाएको छ ।

महाधिवेशनबाट सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ जना निर्वाचित हुनेछन् । त्यस्तै, खुला केन्द्रीय सदस्य ३५, महिला सदस्य ९, प्रदेशबाट २१, दलितबाट ९, आदिबासी जनजातिबाट १५, खस आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यक १, अपाङ्गता भएकाबाट १ जना निर्वाचित हुनेछन् ।

काँग्रेसको विधानअनुसार १ जना सहमहामन्त्री थारु कोटाबाट निर्वाचित हुनेछन् । त्यस्तै, ४ जना थारु कोटाबाट निर्वाचित हुने सुनिश्चित पद हो । बाँकी सदस्यमा खुलाबाट, आदिबासी जनजाति कोटा र महिलाबाट थारु सदस्य निर्वाचित हुने बाटो खुला छ । थारु नेताहरुका अनुसार काँग्रेस महाधिवेशनबाट बढीमा १२ देखि १५ जना केन्द्रीय कमिटीमा थारु आउनसक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया