पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार


SEK_6867

काठमाडौं, पुस २५ गते । गोरखापत्रकर्मी तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

थारुभाषा साहित्यमा योगदान पु¥याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मानित गरेको हो । वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाँलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद ५१ हजार र सम्मानपत्र रहेको छ ।

SEK_6852

वि.सं. २०५२ सालमा स्थापित प्रतिष्ठानले २०६४ सालदेखि चारविधा साहित्य, कला, समाजसेवा र पत्रकारितामा योगदान दिने व्यक्तित्वहरुलाई पुरस्कृत गर्दैआएको छ । चौधरीसँगै सोही राशीको पुरस्कार ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्दैआएको संस्था होप हर्मिटेजलाई पनि सम्मान गरेको छ । सो संस्थाकी कार्यकारी निर्देशक प्रमिला बज्राचार्य थापाले पुरस्कार ग्रहण गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रेश्वरप्रसाद रौनियारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गौरीशंकर लालदासले प्रतिष्ठानले कालजयी कामको शुरुवात गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । चारविधाका पुरस्कारसँगै संगीत विधालाई पनि संस्थाले थप गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

संस्थाका अध्यक्ष रौनियारले सामाजिक संस्थामार्फत् समाजसेवा गरिरहेकाले प्रतिष्ठानमा कुनै राजनीतिलाई प्रवेश नदिइएको बताउनुभयो । पुरस्कारका लागि छनौट समितिले निश्पक्ष ढंगले उम्मेदवार छनौट गरेकोमा धन्यवाद दिनुभयो । सरकारी सेवाबाट अवकाशप्राप्त भएपछि रौनियार प्रतिष्ठान मार्फत् समाजसेवाको काम शुरु गरेको बताउनुभयो ।

SEK_6868

गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ ले राम्रो कामगर्नेहरु ओझेलमा पर्ने तर बेइमानी गर्नेहरु नै बढी प्रचारमा आउने अहिलेको अवस्थामा प्रतिष्ठानले सही उम्मेदवारलाई पुरस्कृत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

साहित्यिक संस्थामा सम्मानको धेरै विकृति रहेको तर्क गर्नुहुँदै उहाँले प्रतिष्ठानले स्वच्छ र निश्पक्ष काम गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले पुरस्कृत संस्था र साहित्यकार चौधरीलाई बधाई ज्ञापन गर्नुभयो ।

नेकपा (माले) का सांसद शिवचन्द्र चौधरीले राजनीतिमा ठूलो विकृति रहेको भन्नुहुँदै कुराभन्दा काम गरेर देखाउने बेला आएको बताउनु  भयो । देशलाई बनाउन समाजका सबैको योगदानको आवश्यकता औल्याउँदै उहाँले प्रतिष्ठानले गरेको कामको सराहना गर्नुभयो ।

एजिङ नेपालका अध्यक्ष तथा साहित्यकार कृष्णमुरारी गौतम ‘चट्याङ माष्टर’ले कर्मको आयु नहुनेहुनाले सबैले आआफ्नो ठाउँबाट कर्मका लागि लाग्नुपर्ने बताउनुभयो । गौतमबुद्ध, महात्मागान्धीहरु कर्मकै कारण अमर भए, हजारौं वर्ष बाँच्नु छ भने कर्म गर्नुपर्छ उहाँले भन्नु  भयो ।

सो अवसरमा डा. रामदयाल राकेसले आनन्दीदेवी पुरस्कार तथा उहाँको बारेमा प्रष्ट पार्नुभयो भने पत्रकार विवेकानन्द मिश्रले सरस्वती राजनारायण प्रतिष्ठानको विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा मुक्तिनाथ शर्मा, पुरस्कृत व्यक्तित्व लक्की चौधरी तथा प्रमिला बज्राचार्यले प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै समाजका लागि थप जिम्मेवार भएर काम गर्न पुरस्कारले उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया