गच्छदार २ मतले उपसभापतिमा पराजित, पुनः गणनाको माग गर्दै निवेदन दर्ता


हमार पहुरा डट कम
काठमाडौं, पुस १ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको जारी मतगणना परिणामबाट थारु नेताहरुको हारको सिलसिला शुरुभएको छ । थारु समुदायबाट सबैभन्दा माथिल्लो पदमा उम्मेदवारी दिनुभएका नेता विजयकुमार गच्छदार २ मतले उपसभापतिमा पराजित हुनुभएपछि थारु उम्मेदवारको हारको सिलसिला शुरुभएको हो ।

नेता गच्छदार अर्का उम्मेदवार धनराज गुरुङसँग २ मत अन्तरले पराजित हुनुभएको छ । गुरुङले १९०८ मत पाउँदा गच्छदारले १९०६ मत प्राप्त गर्नुभयो । दुई उपसभापतिका लागि भएको निर्वाचनमा अर्का उम्मेदवार पूर्णबहादुर खड्का निर्वाचित हुनुभयो । उहाँले २१२१ मत प्राप्त गर्नुभयो । यस्तै, अन्य उम्मेदवारमा चन्द्र भण्डारीले १५८०, महेश आचार्यले ५८९, सुजाता कोइरालाले ६४४ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गर्नुभएको छ ।

नेता खड्का सभापति देउवा प्यानलबाट निर्वाचित हुनुभयो भने गुरुङ डा. शेखर कोइरालाको प्यानलबाट निर्वाचित हुनुभयो । नेता गच्छदार पनि सभापति देउवा पक्षबाट निर्वाचनमा उम्मेदवारी दिनुभए पनि उहाँलाई मतदाताले प्यानलको सबै मत प्राप्त हुन सकेन ।

पुनः मतगणनाको माग
नेता गच्छदार २ मतको मतान्तरले आफू पराजित भएको भन्दै षडयन्त्र हुनसक्ने आशंका गरी पुनः मतगणनाको माग गर्नुभएको छ । उहाँले पार्टी कार्यालय सानेपामा आज विहान गई निर्वाचन समितिसमक्ष पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गराउनुभएको छ ।

काँग्रेस महाधिवेशनमा एक सहमहामन्त्रीसहित ४ केन्द्रीय सदस्यको पद थारु नेताकालागि सुनिश्चित पद हो । सहमहामन्त्रीमा देउवा पक्षबाट उमाकान्त चौधरी र कोइराला प्यानलबाट तेजुलाल चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । एकजना पराजित भएपनि त्यहाँ थारु नेता आउने सुनिश्चित छ । त्यस्तै २ महिला र २ पुरुष गरी ४ जना थारु नेता केन्द्रीय सदस्यमा आउने निश्चित पद हो । यद्यपि सो पदका लागि धेरै थारु नेता प्रतिस्पर्धामा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया