अगहनी धान र चामलको परिकार चढाएर थारु समुदायले गरे नेमान पूजा


सुनिल चौधरी
झुम्का, पुष ४ गते । मंसिर पूर्णिमामा नयाँ उत्पादन भएको अगहनी ननिहा धान र चामलको परिकार चढाएर थारु समुदायले आइतबार नेमान पूजा गरेका छन् । अन्नबाली भित्र्याएको अवसरमा अगहनी धानको धुनी जगाउने र चामलको लड्डु, फलफुल, आँटा लगायत परिकार बनाएर कुलदेवतालाई विधिवत चढाई थारु समुदायले नेमान पूजा गरेका हुन् ।

नेमानलाई बोलीचालीको भाषामा नेमानी पूजा पनि भन्ने गरिएको स्थानीयको भनाई छ । खेतीपाती राम्रो होस भनी असारमा अखारी र अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा नेमान पूजा मनाउने प्रचलन रहेको छ । थारु संस्कारअनुसार घरमा कुलदेवता र बाहिर ग्रामथानमा “नेमान” पूजा गर्ने पौराणिक मान्यता रहेको छ ।

“नेमान” पूजापछि उत्पादन गरेको नयाँ अन्नबाली खान सुरुगर्ने परम्परा रहेको थारु अगुवाहरुको भनाई छ । “नेमान” पूजा मौलिक संस्कारको रुपमा रहेको छ । पूजामा अगहनी धानलाई चिउरा बनाएर सो चिउरालाई भुटेर बनाएको भुजालाई ओखल (ओखरी) मा कुटी सखर (गुर), नरिवल, छोहरा, सोप र दुध मिश्रणगरी बनाएको लड्डु चढाउने प्रचलन छ ।

पूजाको अर्को प्रमुख बिशेषता अगहनी चामलमा दुध र सखर मिसाएर गुरा बनाई समेत चढाउने गरिन्छ । “नेमान” पूजामा कुलदेवताको घरबाहिर धुनी जगाउने गरिन्छ । गोबर र धानको भुसले बनाएको चिपरी र धानको डाँठले धुनी जगाउने चलन रहेको स्थानीयको भनाई छ । यसले घर वरिपरि रहेको अनिष्टलाई हटाउने र वातावरण स्वच्छ राख्ने धार्मिक मान्यता रहेको छ । चिपरी तिहारको भाइटीकाको दिन (सुखराइत पर्वको जमजितिया) को दिन बनाएर घेराको फुल चढाई राखिन्छ । सो चिपरी घरको कुलदेवतालाई “नेमान” पूजा चढाउँदा धुनी जगाउने मान्यता रहेको छ ।

यसैगरी घरको कुलदेवतालाई विधिवत पूजा गरेसँगै ग्रामथानमा समेत “नेमान” पूजा गर्ने गरिन्छ । “नेमान” पूजाको दिन ग्रामथानको चारै कुना र बाहिर रहेको देवताको स्थानमा नयाँ उब्जाएको अगहनी धानको डाँठको मुठा बनाएर झुण्ड्याउने गरिएको थारु अगुवाको भनाई छ । यसप्रकारले झुण्ड्याइ पूजा गर्नाले देवता र प्रकृतिलाइ भोग लाग्ने मान्यता रहेको विश्वास गरिन्छ ।

अगहनी धान भोग लगाउनाले आगामी बर्षहरुमा उत्पादन बृद्धि हुने, घरमा अन्न भरीभराउ रहिरहने बिश्वास रहेको रामधुनी १ नयाँटोल भादगाउँका धार्मिक कार्यमा भजन गर्दै आउनुभएका ६५ बर्षिय ग्रामथान संरक्षक गुजकलाल चौधरीले बताउनुभयो । उहाँकाअनुसार ग्रामथान पूजामा बच्चादेखि बृद्धसम्म भेला हुने गर्छन् । ग्रामथानको “नेमान” पूजामा साँझ सामुहिक भेला भएर साँझबाती देखाएर लड्डु चढाइ भजन गर्दै अगहनी धानको चिउरा र दहि मिश्रणगरी बनाएको प्रसाद ग्रहणगरी पूजा सम्पन्न गर्ने गरेको उहाँले बताउनुभयो ।

खेती किसान गर्ने थारु समुदायको ऐतिहासिक रुपमा रहेको मौलिक “नेमान” पूजा भने राज्य र संचार माध्यममा महत्व नपाएको थारु समुदायको आरोप छ । मंसिर पूर्णिमामा मनाउने अन्य पर्वहरुको बृहत उठान हुने गरेपनि “नेमान” पूजा पर्वकै रुपमा मनाउँदा प्रचार प्रसारका लागि मिडियामा स्थान नपाएको सौनधामी ग्रामथान पूजारी सिताराम चौधरीको गुनासो छ ।

तपाईको प्रतिक्रिया