थारु पत्रकार संघको पाँचौं केन्द्रीय महाधिवेशन चैत १२ र १३ गते गर्ने निर्णय


हमार पहुरा डट कम
कपिलवस्तु, पुस २४ गते । थारु पत्रकार संघ नेपालले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । कपिलवस्तुको बाणगंगा ४, जितपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको नवौं बैठकले सो निर्णय गरेको हो ।

बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ । मस्यौदा समितिद्वारा प्रस्तुत दस्तावेजमा छलफल गरी केन्द्रीय कमिटीले पारित गरेको छ । सो विधान मस्यौदालाई आगामी महाधिवेशनमा प्रस्तुत गरी अनुमोदन गरेपछि कार्यान्वयन गर्ने संघले बताएको छ । मस्यौदा विधानले संघको केन्दीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी रहने व्यवस्था गरेको छ ।

केन्द्रीय कमिटी बैठकले आगामी माघ १५ गते जिल्ला शाखा अधिवेशन गर्ने निर्णय गरेको छ । संघको १६ जिल्लामा शाखा रहेको संघले जानकारी गराएको छ । त्यस्तै, आगामी फागुन ७ गते संघको प्रदेश कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । संघमा करिब पाँच सय थारु पत्रकार आवद्ध छन् ।

विधान मस्यौदामा संघको कार्य समितिको कार्यकाल ३ वर्षको हुने प्रस्ताव गरिएको छ । यसअघि २ वर्षको कार्यकालको व्यवस्था थियो । सोहीअनुसार संघ, प्रदेश र जिल्लाको अध्यक्ष हुनलाई एक कार्यकाल कार्य समितिमा रहेर काम गरिसकेको मापदण्ड पनि बैठकले प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया