थारु पत्रकारसँग समन्वय गरी काम गर्न थारु जनप्रतिनिधिहरुको चाहना


हमार पहुरा डट कम
कपिलवस्तु, पुस २६ गते । थारु जनप्रतिनिधिहरुले आफूहरुले गरेको सम्पादनको काम बाहिर आउन नसकेकाले थारु पत्रकारले समन्वयात्मक ढंगले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आफूहरु जनप्रतिनिधिकोरुपमा निर्वाचित भएपछि पाँच वर्षमा गरेको कामको प्रगति सञ्चारमाध्यममा आउन नसक्दा गरेको काम पनि नदेखिएको उहाँहरुको भनाई छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ४, स्थित जीतपुरमा आयोजित थारु पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले सो दुःख व्यक्त गर्नुभएको हो । थारु पत्रकारको संख्या दिनप्रतिदिन बढ्दैगएको भएपनि एकापसमा समन्वय र सहकार्य हुन नसक्दा कतिपय अवस्थामा समस्या हुने गरेको जनप्रतिनिधिहरुको बुझाई छ ।

जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले आफूहरुले गरेको काम र गर्नुपर्ने कामबारेमा थारु पत्रकारसँग सहकार्यका लागि योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । थारु भएकै कारण जनप्रतिनिधिहरु अन्य समुदायबाट हेपिने गरेको पनि उहाँले दुःख व्यक्त गर्नुभयो । कपिलवस्तुको १० पालिकामध्ये ४ पालिकामा थारुको नेतृत्व रहे पनि अन्य समुदायले सकारात्मकरुपले हेर्न नसकेको उहाँले बताउनुभयो । थारु पत्रकारको दक्षता अभिबृद्धि तथा सचेतना कार्यक्रमका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले आफू मिडियाक्षेत्रबाटै जनप्रतिनिधिमा गएकाले सञ्चारका धेरथोर कुरा बुझ्ने बताउनुभयो । आफूले पाँच वर्षे कार्यकालमा थारु समुदायको हकहितमा थुप्रै काम गरे पनि मिडियामा आउन नसकेको उहाँले बताउनुभयो । थारु संग्रहालय स्थापना, थारु दिउहारथान (ग्रामथान) संरक्षणसहित थारुको संस्कार संस्कृतिको जगेर्नामा आफूले केन्द्रीत भएर काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । काम गर्नेक्रममा अनेक चुनौति आएपनि त्यसलाई अवसरको रुपमा आफूले लिएको उहाँले बताउनुभयो । आगामी दिनमा थारु पत्रकारसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने र थारु पत्रकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष तथा थारु पत्रकार संघ नेपालका सल्लाहकार लक्की चौधरीले थारु पत्रकार र जनप्रतिनिधि एक अर्कासँग समन्वय गरेर काम गर्दा ठूलो उपलब्धी हुने बताउनुभयो । राज्यको स्रोत साधनबाट बन्चित हुँदैआएको थारु समुदाय अहिले जनप्रतिनिधिकोरुपमा स्थानीय सरकारमा नेतृत्वमा रहेका बेला पत्रकारसँग समन्वय गरेर कार्यक्रम गर्न उहाँले सुझाव दिनुभयो । भएको कामलाई मिडियामार्फत जानकारी गराउने र थप काम गर्न थारु पत्रकार संघ, नेपालसँग समन्वय गरी कार्ययोजना बनाउन उहाँले जनप्रतिनिधिहरुलाई सुझाउनुभयो ।

थारु कल्याणकारिणी सभा (थाकस) का कपिलवस्तु सभापति उमाशंकर चौधरीले थारु पत्रकारसँग समन्वय गरी थाकसले जिल्लामा काम गर्दैआएको बताउनुभयो । थारु समुदायलाई नेतृत्वमा ल्याउन र समावेशीताको विषयमा थाकसले नियमित काम गरिरहेको उहाँले जानकारी दिनुभाये । थारुको संस्कार संस्कृति झल्काउने गतिविधि पनि समाजका विभिन्न सरोकारवालाहरुसँगको समन्वयमा नियमित काम भइरहेको उहाँले बताउनुभयो ।

संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा वडा नं. १० का अध्यक्ष रामविहारी चौधरी, वडा ४ का सदस्य ऋषिराम थारु, स्थानीय समाजसेवी दुर्गा अर्याल, दिवस घिमिरे लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा थारु पत्रकार ठाकुरसिंह थारु, सन्तकुमार थारु, कारी महतो, राजु चौधरीसहित संघका केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया