थारु महिलाको सशक्तिकरणका लागि थारु आयोगको सचेतना कार्यक्रम जारी


हमार पहुरा डट कम
पर्सा, पुस २६ गते । थारु आयोगले थारु महिलासहित समुदायलाई कानुनी रुपमा सशख्त बनाउन अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअघि प्रदेश १ मा थारु महिला लक्षित कार्यक्रम गरेको आयोगले प्रदेश २ मा पनि सम्पन्न गरेको छ ।

पर्साको पर्सागढी नगरपालिका २ मा आइतबार र सोमबार गरी दुई दिनसम्म आयोगले प्रशिक्षणमुलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको आयोगका सदस्य शान्ति मोदी थारुले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु महिलालाई लक्षित गरी आयोगले अभिमुखीकरण कार्यक्रम गरिरहेको बताउनुभयो । थारु महिला सक्षम भएमा समुदाय सक्षम हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै अध्यक्ष थारुले अभिमुखीकरण कार्यक्रम सात वटै प्रदेशमा गरिने बताउनुभयो । गाउँघरमा थारु महिला अझै खेती किसानीमै सीमित रहेकाले कानून तथा अधिकारका विषयबारे कार्यक्रमबाट जानकारी प्राप्त गर्नेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।

आयोगका सदस्य शान्ति मोदी थारुले कार्यक्रमबाट थारु महिला लाभान्वित भइरहेको बताउनुभयो । थारु महिलालाई सशख्त बनाउन कानुन, महिला हिंसा अन्त्य तथा महिला अधिकारका विषयलाई प्रशिक्षणमा राखिएको उहाँको भनाई छ ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्नुहुँदै थारु महिला सशक्तिकरणमा जोड दिनुभएको छ । कार्यक्रममा पर्सा जिल्लाका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठले लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले गरेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । थारु महिला माथि पनि हिंसाजन्य घटना भइरहेकाले उहाँले सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता अभयदास थारुले कानुनमा भएको व्यवस्था र कार्यान्वयनको विषयमा जानकारी गराउनुभएको थियो । महिला हिंसा न्यूनिकरणका लागि विद्यमान कानुन व्यवहारमा कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका रञ्जना पण्डित, जनप्रतिनिधि ममता महतो, नारायणी अस्पतालका हेमा थापा, थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय सदस्य वृजमोहन चौधरी, भागवत चौधरी लगायतले महिला सशक्तिकरण र महिला हिंसा न्यूनिकरणका विषयमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया