भूकम्प पीडितलाई साढे पाँच अर्व वितरण गरिसक्यौंः प्रधानमन्त्री ओली


Oli

काठमाडौँ, पुस २६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहतस्वरुप अहिलेसम्म पाँच अर्व ५० करोड रुपिया वितरण गरिसकिएको र सोमबारसम्म थप ५० करोड वितरण गरिने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उहाँले राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

उहाँले सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि रु पाँच अर्ब ५० करोड रकम वितरण भइसकेको र बाँकी रहेको रु ५० करोड रकम सोमबार साँझसम्म वितरण भइसक्ने विश्वास दिलाउनुभयो ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको र केही दिनभित्रै ती क्षेत्रमा पुगिसक्ने पनि उहाँले उल्लेख गर्नुभयो । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि जानकारी गराउनुभयो ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।

कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भएपनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराउनुभयो ।

सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुहुँदै उहाँले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पार्नुभयो ।

स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘‘स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ ।’’

जनतालाई राहतका रुपमा प्रदान गरिने रु दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा रु तीन लाख रकम दिइने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया