तराईमा तीन प्रदेशले समस्याको निकासः उपप्रधानमन्त्री गच्छदार


Gachhadar

काठमाडौ, पुस २६ गते । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तराईमा तीन प्रदेश सहितको आठ प्रदेश बनाएरै समस्याको समाधान रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको आइतबार ज्ञापनपत्र बुझ्दै गच्छदारले त्यस्तो बताउनुभयो । “झापा, मोरङ्ग र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन । त्यहाँ म पनि छु” उहाँले भन्नुभयो ।

गच्छदारले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची, पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दावी गर्नुभयो ।

“तराईमा दुई प्रदेश हुनुपर्छ भन्ने एक्सट्रिम सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुर्ननिर्धारणको आधार मधेसी मोर्चालाई दिनु पर्छ” उहाँले भन्नुभयो, “यसले थारु र मुस्लिमको माग पनि पुरा गर्नेछ ।” मैले भने अनुसारको आठ प्रदेश भएको भए अहिलेको यो रक्तपात हुने नै थिएन गच्छदारको भनाई छ । “अहिलेको समस्याको समाधान आठ प्रदेशले गर्छ, तराईमा तीन प्रदेश भयो भने तीनवटा मधेसी मुख्य मन्त्री नै हुन्छन् नि” उहाँले भन्नुभयो ।

गच्छदारले काग्रेस र एमालेका नेताहरु अहिले आएर तपाईले ल्याएको आठ प्रदेशको प्रस्ताव ठिकै छ भन्ने गरेको सुनाउँदै एकीकृत नेकपा एमाओवादीले औपचारिक रुपमै समर्थन गरेकोमा अध्यक्ष प्रचण्डलाई धन्यबाद दिनुभयो ।

“मैले पाँच विकास क्षेत्र ठिक छ भने पाँचवटा प्रदेश बनाउँ पनि भनेको हो तर उहाँहरु आँटन सक्नु हुन्न, मेरो साईज ठूलो भएको भए नाकमा नथ्थी लगाएर ल्याउने थिएँ” गच्छदारले दावी गर्नुभयो ।

गच्छदारले सरकार निर्माणको बेला आफूसँग भएको आठबुँदे सम्झौताको सीमांकन बाहेकको सबैमाग पूरा भइसकेको बताउनुभयो । झुठा मुद्दा फिर्ता लिने विषयमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई प्रक्रिया अगाडि बढाउन भनिसक्नु भएको उहाँले जानकारी दिनुभयो ।

संविधान अब खारेज गर्न सकिदैन अब सबैको अपनत्व गराएर संसिोधन गरेर समस्याको समाधान गर्नुपर्छ तर संसोधनका लागि राष्ट्रिय एकताको आवश्यकता छ उहाँले भन्नुभयो । सँगसँगै देश बचाउन पनि एकताको आवश्यकता रहेको उहाँले तर्क गर्नुभयो ।

सहमतिको लागि आफूले मध्यममार्गी बाटो लिदा निक्कै आलोचित समेत भएको उल्लेख गर्दै गच्छदारले संविधानसभाबाट शहीदको सपना, जन आकांक्षा बमोजिम बनेको संविधान उत्कृष्ट भएकोले त्यसमा केही विषय बाहेक आफूहरु समर्थन रहेको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया