कल्याणकारिणीसभाले माघ २३ देखि २५ सम्म केन्द्रीय प्रशिक्षण गर्ने


SAM_2592

काठमाडौं, पुस २७ गते । थारुको आन्दोलनलाई प्रभावकारी बनाउन थारु कल्याणकारिणी सभाले आगामी माघमा तीनदिने केन्द्रीय प्रशिक्षण भेला गर्नेभएको छ । कार्यक्रम माघ २३ देखि २५ सम्म सिराहाको लहानमा हुनेछ ।

सभाले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीका अनुसार भोलामा देशभरका सभा मातहतका करिब एकहजार प्रतिनिधिहरुको सहभागिता रहने छ ।

प्रशिक्षण कार्यक्रममा डा. कृष्ण भट्टचन, कृष्ण हाछेथु, सिके लाल, अधिवक्ता शंकर लिम्बु, भारतीय अधिवक्ताले समेत प्रशिक्षण दिने आयोजकले बताएको छ । आयोजकमा नेपाल र भारतबाट थारुको सहभागिता रहने लेखीले जानकारी दिनुभयो ।

SAM_2589

भेलालाई सफल बनाउन सभाले विभिन्न ७ वटा समिति गठन गरेको छ । सभाले रमाकान्त चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, खड्गनारायण चौधरीको संयोजकत्वमा प्रचार उपसमिति, शुभानन्द चौधरीको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, अजय चौधरीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यस्तै, रामचन्द्र चौधरीको संयोजकत्वमा स्वयम्सेवक उपसमिति, परशुराम चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति र सूर्यनारायण चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरेको छ ।

प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन दुर्गानन्द चौधरीको संयोजकत्वमा ६५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको प्रशिक्षण कार्यक्रमका प्रमुख राजकुमार लेखीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा लेखीले थारु मन्त्री र सांसदकै कारण थारु आन्दोलन तुहिएको आरोप लगाउनुभयो । आन्दोलनलाई थप सशख्त बनाउन सभा मातहतका सबै वडा देखि नगर कमिटीका सदस्यहरुलाई सक्रिय बनाउनेगरी प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयो ।

थारु युवालाई नयाँ संविधानको विषयबारे जानकारी गराउन, थारुको अधिकारलाई पहिचान गर्न तथा राजनीतिक समस्या तथा भारतीय संविधानमा गरिएको थारुको अधिकारको विषयमा समेत जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गर्न गइरहेको लेखीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित बनाउन सिराहा, सप्तरी र उदयपुर जिल्लाको थारु कल्याणकारिणी सभालाई परिचालन गर्ने तयारी भएको लेखीले बताउनुभयो । सबैसँग आवश्यक सहयोग र दाल, चामल संकलन गरेर कार्यक्रम सफल पार्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया