थारु महिलालक्षित कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न


गीता चौधरी
कैलाली, फागुन १६ गते । जोशीपुर ४ झबहीमा थारु महिलालक्षित कानुनी जनचेतना तथा शसक्तीकरण सम्बन्धी दुई दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थारु आयोगको आयोजनामा भएको कार्यक्रममा कैलालीका थारु महिलाको सक्रिय सहभागीता थियो ।

थारु आयोगका सदस्य सुबोधसिंह थारुले महिलालाई थारु आयोगका बारेमा जानकारी दिने र कानुनी सचेतनाका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विभिन्न चरणको आन्दोलनको उपलब्धीस्वरुप थारु आयोग गठन हुने वातावरण बनेको उहाँले प्रष्ट पार्नुभयो ।

समुदायमा भएको समस्या सम्बन्धी थारु आयोगमा उजुरी आएमा सम्बोधनको पहल आयोगले गर्दैआएको उहाँले जानकारी दिनुभयो । “समुदायमा घट्ने गरेका विभिन्न किसिमका घट्ना, हिंसा, लगायतका घटनाबारे आयोगमा उजुरी आएमा खोजीनीति गरी तत्काल पहल गर्ने आयोगको नीति हो” उहाँले भन्नुभयो ।

थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय सदस्य प्रभात चौधरीले थारु आयोग थारुहरुको उत्थानका लागि अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । थारुहरुको हकअधिकार प्राप्तीका लागि विभिन्न चरणको आन्दोलन गर्दैआएको बताउदै अहिले ३ तहको सरकारमा कुनै तहमा अधिकार प्राप्त गर्न नसकिएको उहाँले बताउनु भयो ।

थारु कल्याणकारिणी सभा कैलाली जिल्लाका सभापति लाहुराम चौधरीले आन्दोलनले मात्र अधिकार प्राप्त नहुने भएकाले आयोगले सही र सकारात्मक नीति लिएर त्यसको कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । थारु पहिचानका लागि हरेक थारु आफ्नो नामको पछाडि थारु लेख्न आवश्यक भएको उहाँले जोड दिनुभयो । उहाँले थारु युवाहरुलाई आफ्नो इतिहास बुझ्न आग्रह गर्नुभयो ।

ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी सहायक निरीक्षक नरेश ढकालाले महिला हिंसा न्यूनिकरणका लागि विभिन्न प्रयास भएपनि अझै प्रयाप्त नभएको बताउनुभयो । अधिबक्ता नाथराम चौधरीले देशको विकास गर्न हरेक जात जाति र समुदायको भाषाभाषी विकास आवश्यक भएको बताउनुभयो ।

जेलबन्दी जीवन विताएका चन्नुराम चौधरीले थारु आयोग कुनैपनि संघ संस्था र कसैको पनि करकापमा नपरी स्वतस्फुर्ट रुपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका लगायतका गाउँपालिका र नगरपालिकाका महिलाको उपस्थिती थियो ।

कार्यक्रममा महिला हिंसा, लैगिंक हिंसा, लैगिंक हिंसा न्यूनिकरण र परार्मश लैगिंक हिंसा सम्बन्धी कानुनी व्यवस्था, महिला हक र सशक्तिकरण, लगायतको बारेमा छलफल भएको थियो । कार्यक्रम थारु आयोगको आयोजना र थारु कल्याणकारिणी सभा कैलालीको समन्वयमा भएको हो ।

तपाईको प्रतिक्रिया