फोनिज लुम्बिनीको महाधिवेशन सैनामैना थारु होमस्टेमा, नयाँ समिति चयन हुँदै


हमार पहुरा डट कम
सैनामैना (रुपन्देही), फागुन १७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशन रुपन्देहीको सैनामैनास्थित थारु होमस्टेमा हुँदैछ । फागुन १७ र १८ गते हुने महाधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ ।

लुम्बिनीमा फोनिजको ११ जिल्लामा समिति रहेको छ । प्रदेश महाधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति तीन वर्षका लागि चयन गर्नेछ । प्रदेश समितिमा अध्यक्ष १, उपाध्यक्ष २ (खुला, १ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ गरी ७ पदाधिकारी र १४ जना सदस्य (खुला ४, महिला ३, संस्थागत ६, अल्पसंख्यक १) रहने विधानले व्यवस्था गरेको छ ।

महाधिवेशनका लागि मंगलबार करिब सबै जिल्ला शाखाबाट प्रदेश पार्सद तथा जिल्ला अध्यक्षहरु रुपन्देहीको सैनामैना पुगिसक्नुभएको छ । महाधिवेशनको उदघाटन बुधबार विहान ८ बजेदेखि शुरु हुने लुम्बिनी फोनिजका इन्चार्ज मिलन गाहाले बताउनुभयो । उहाँकाअनुसार विहान १० बजेसम्म उदघाटनसत्र र ११ बजेदेखि बन्दसत्र शुरु गरी २ बजेसम्म कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

महाधिवेशनमा भाग लिन फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, उपाध्यक्ष लक्की चौधरी, महासचिव मनोज घर्तीमगर मंगलबार साँझ रुपन्देहीको सैनामैना पुगिसक्नुभएको इन्चार्ज गाहाले जानकारी दिनुभयो । फोनिज गण्डकी प्रदेशको महाधिवेशन पनि फागुन १८ र १९ गते कास्कीको पोखरामा तय भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको महाधिवेश १९ गतेका लागि तयारी भएको सुदूरपश्चिम प्रदेशका अध्यक्ष भीम चौधरीले बताउनुभयो ।

होमस्टेमा थारु नृत्य
सैनामैनामा रहेको थारु होमस्टेमा फोनिजका प्रतिनिधि तथा पाहुनालाई थारु परम्परागत नृत्यले स्वागत गरिएको छ । थारु परिकार ढिक्री, माछाको सिध्रा, चटनी, लोकल परिकारले पाहुनालाई स्वागत गरिएको होमस्टेका अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो ।

उहाँकाअनुसार २०७२ सालमा उदघाटन गरिएको सैनामैना थारु होमस्टेमा अहिले ५ घरमा थारु होमस्टे सञ्चालन गरिएको छ । एक घरमा चार जनालाई सुताउन सक्ने क्षमता रहेको र निकट भविष्यमै थप घरमा होमस्टे सञ्चालनको तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो । होमस्टे सञ्चालनमा आएलगत्तै कोभिड १९ महामारीले समस्या पारेपछि होमस्टे धेरे घरमा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ ।

पाहुनालाई होमस्टेका थारु युवा युवतीहरुले थारु नृत्यले स्वागत गर्नुभएको छ । साँझ ६ बजेदेखि करिब साढे ८ बजेसम्म थारु परिकार तथा नृत्यले स्वागत पाउँदा फोनिज महाधिवेशनमा भाग लिन आउनुभएका आदिबासी पत्रकार खुशी भएको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया