धनगढीको मेयरमा निर्वाचित भए निःशुल्क नागरिकको सेवा गर्नेछुँ : हमाल


हमार पहुरा डट कम
धनगढी, फागुन २३ गते । सफल उद्योगी तथा समाजसेवी गोपाल हमालले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । निर्वाचित भएमा विनापारिश्रमिक उपमहानगरबासी जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जनाउनुभयो ।

धनगढीमा गत विहिबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गर्नुभएका हमालले विनास्वार्थ नगरबासी जनताको सेवामा लाग्ने बताउनुभयो । “उपमहानगरप्रमुखमा निर्वाचित भएँ भने उपमहानगरबाट कुनै सुविधा लिँदैन, आफ्नै निजी गाडी प्रयोग गरी नागरिकको दिनरात निःशुल्क सेवा गर्नेछुँ” उहाँले भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । म उद्योगी व्यवसायी हुँ, मसँग सबै चिज पर्याप्त छ, सुशासन कायम गर्छु ।”

उपमहानगरपालिकामा भ्रष्टाचार व्याप्त भएकाकारण चाहेकोजस्तो विकास हुन नसकिरहेको चर्चा गर्नुहुँदै उद्योगी हमालले आफू निर्वाचित भएमा कल्याणकारी काममा लागिपर्ने बताउनुभयो । उपमहानगरपालिकाको वास्तविक विकास र रुपान्तरणका लागि स्वतन्त्र उम्मेदवारले जित्न आवश्यक रहेको बताउनुहुँदै उहाँले थप्नुभयो, “भविष्यका योजना बनाएर, यो धनगढी शहरलाई वास्तविक स्मार्ट सिटीकोरुपमा रुपान्तरण गर्ने मसँग स्पष्ट योजना छ । मुलुककै मोडल सिटीको रुपमा धनगढीको विकास गर्नेछुँ ।”

उपमहानगरपालिकाभित्र दूरदराजमा बसोबास गर्ने नगरबासीको पहुँच अझै सेवा सुविधामा समान पहुँच हुन नसकेको बताउनुहुँदै उद्योगी हमालले कसैमाथि विभेदको अनुभूति हुन नदिने बताउनुभयो । आफू पाँच वर्षका लागि महानगरको प्रमुखमा निर्वाचित भएमा गर्भवती, सुत्केरी तथा ज्येष्ठनागरिकको स्वास्थ्य सेवाका लागि गाउँ गाउँमा स्वास्थ्यउपचारको उचित व्यवस्था गर्ने बताउनुभयो । गाउँ गाउँमा एक्सरे मेशिन सहितको स्वास्थ्य उपचार केन्द्रको व्यवस्थालाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय गरेपछि व्यवसायी हमालले स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । यसअघि २०७४ सालको निर्वाचनमा पनि उहाँ स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित हुनुभएका हमालले यस पटकको निर्वाचनमा नगरबासीले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

सो निर्वाचनमा काँग्रेसका उम्मेदवार वडले १४ हजार ३२४ मत ल्याएर निर्वाचित हुनुभएको थियो । हमालले ११ हजार ५२७ मत ल्याएर दोस्रो स्थान बनाउनुभएको थियो । सो निर्वाचनमा माओवादी केन्द्र तेस्रो स्थान र नेकपा (एमाले) का उम्मेदवारलाई चौथो स्थानमा चित्त बुझाउनुपरेको थियो । सुन्दर सुदूरपश्चिमका अभियन्ता उद्योगी हमाल यसअघि नेपाल उद्योग बाणिज्य संघका कैलाली अध्यक्षको जिम्मेवारीमा रहँदा कैलालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

आफूलाई अन्तिम पटक अवसर दिन मतदातासँग आग्रह गर्नुहुँदै उद्योगी हमालले आफ्नो कार्यकालमा धनगढीलाई देखिनेगरी विकासमा रुपान्तरण गर्ने योजना आफूसँग भएको बताउनुभयो । “यसपाली अन्तिम पटक उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छुँ, निर्वाचित भएपछिको परीक्षामा कामले उत्तीर्ण हुन सकेन भने जस्तोसुकै सजाय दिंदा पनि स्वीकार्य हुन्छ” उहाँले भन्नुभयो ।

उपमहानगरपालिकामा बसोबास गर्ने ग्रामीण जनताको जीवनउत्थानमा आफू केन्द्रीत भएर काम गर्न चाहेको बताउनुहुँदै व्यवसायी हमालले भन्नुभयो, “आधाभन्दा बढी जनसंख्या ग्रामीण भेगमा छ, ती क्षेत्रका जनताको जीवनस्तर उकास्न मेरो उम्मेदवारी हो, गाउँस्तरमै कृषिमार्फत आयआर्जन कायम गर्ने व्यवस्था मिलाउँछु ।” कृषकले उत्पादन गरेको चिजवस्तुको गाउँस्तरमै विक्री वितरणको व्यवस्थामा आफू लागिपर्ने उहाँले बताउनुभयो । कृषकका लागि विउविजन, मलखाद, सिंचाईको उचित प्रबन्धमा ध्यान दिने चर्चा गर्नुभयो ।

धनगढी शहर परम्परागत विकासबाट गुज्रिरहेकाले त्यसलाई स्मार्ट शहरमा रुपान्तरण गर्न आफूसँग यथोचित योजना रहेको उहाँले सुनाउनुभयो । ग्रामीण क्षेत्रका नागरिक किनमेलका लागि सदरमुकाम आउँदा सार्वजनिक शौचालय नपाएर लामो समयदेखि समस्यामा पर्दैआएकाले आफू निर्वाचित भएमा मुख्य शहरभित्र ठाउँ ठाउँमा सार्वजनिक शौचालयको उचित व्यवस्था मिलाउने उहाँले योजना सुनाउनुभयो । ग्रामीण सबै क्षेत्रमा विद्युतको पहुँच बनाई कृषकको आधुनिक खेतीलाई प्रश्रय दिने उहाँले बताउनुभयो ।

केही समय विवेकशील साझा पार्टीको सुदूरपश्चिम अध्यक्षको जिम्मेवारीमा रहनुभएका उद्योगी हमालले फागुन १७ गते मंगलबार सो पार्टीबाट राजिनामा घोषणा गर्नुभएको थियो । उपमहानगरबासीले स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई उम्मेदवारी घोषणा गर्न आग्रह गर्नुभएपछि पार्टीबाट राजिनामा दिएर उम्मेदवारी घोषणा गरेको उहाँले दावी गर्नुभयो । उद्योग व्यवसायी हमालले धनगढी उपमहानगरपालिकाभित्र निशुल्क रुपमा शव वाहनको व्यवस्था पनि गर्नुभएको छ । मान्छेको मृत्यु भएपछि घाटसम्म शप लग्ने बाहन नहुँदा नागरिकहरुलाई समस्यामा परेको देखेर आफूले शव बहान निःशुल्क रुपमा सञ्चालन गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया