लखागिन थारु उत्थान मञ्चको अध्यक्षमा मानबहादुर पन्ना चयन


हमार पहुरा डट कम
सुर्खेत, फागुन २९ गते । लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगर सुर्खेतको प्रथम साधारण सभामा सो संस्थाबाट प्रकाशित साहित्यिक पत्रिका लखागिन जर्नल विमोचन भएको छ । वीर्न्द्रनगर नगरपालिकाका २ का वडा अध्यक्ष बलबहादुर रोकायको प्रमुख आतिथ्यतामा सो जर्नल विमोचित भएको हो ।

साधारण सभाबाट मञ्चको नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा मानबहादुर चौधरी पन्ना, उपाध्यक्षमा लोकबहादुर चौधरी, सचिवमा जितबहादुर चौधरी कोषाध्यक्षमा राजु चौधरी, सहसचिवमा कृष्णा चौधरी चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मण चौधरी, प्रभा चौधरी, माया चौधरी र बेन्जु चौधरी चयन हुनुभएको अध्यक्ष पन्नाले बताउनुभयो ।

प्रमुख अतिथि रोकायले लखागिन थारु उत्थान मञ्च सुर्खेतले प्रकाशन गरेको लखागिन जर्नल २०७८ पुस्तकको विमोचन गर्दैे थारु जाति सुर्खेतको सबैभन्दा पुरानो बासिन्दा भएको बताउनुभयो । थारुहरुको कला संस्कृतिको उत्थानको लागि थारु युवाहरुले सशक्त भूमिका निभाउनु पर्ने उहाँको सुझाव छ ।

लखागिन थारु उत्थान मञ्च सुर्खेतका अध्यक्ष एवम् जर्नलका सम्पादक मानबहादुर चौधरी ‘पन्ना’ ले लखागिन जर्नलमा विशेष गरेर सुर्खेती थारुहरुको तथ्याङ्क, भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा धार्मिक अवस्थाको खोज अनुसन्धानमूलक सामग्री समेटिएको बताउनुभयो । थारु जातिको विभिन्न थर उपथर गोत्र समेतको अध्ययन विश्लेषण गरिएकाले युवा पुस्ताका लागि जर्नल उपयोगी हुने बताउनुभयो ।

थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले थारुहरुको कला, संस्कृति मुल्य मान्यता आदि विविध विषयको अनुसन्धान गरिएको लखागिन जर्नल सुर्खेतको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो । खोजमूलक पुस्तक प्रकाशन हुन नसकेको अवस्थामा यो जर्नलको महत्व बेग्लै हुने उहाँले बताउनुभयो ।

जर्नल प्रकाशन टिमका संरक्षक एवम् समाजसेवी शनिश्रा दहितले जर्नल प्रकाशन गर्दाको क्षण सम्झिदा निकै दुख भएको र अहिले कृति हातमा परेपछि आफ्नै सन्तानझै माया लागेको बताउनुभयो । थारुहरुको भाषा, साहित्य कलाको विकासका लागि सबै थारु लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका लाइब्रेरी प्रमुख संग्राम चौधरीले थारुहरुको पहिचानलाई दस्ताबेजीकरण गर्नलाई हरेक शिक्षित थारु युवाहरुले आफ्ना पुर्खाहरुको कला, संस्कृतिलाई खोज अनुसन्धान गरी प्रचार प्रसारसमेत गर्न आवश्यक रहेको बताउनुभयो ।

लखागिन थारु उत्थान मञ्चका सल्लाहकार लालबहादुर चौधरीले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । थारुहरुको कला संस्कृति मुल्य मान्यताप्रति सरकार उदासिन भएको बताउनुभयो ।

कार्यक्रममा सुर्खेतका थारु अगुवा, समाजसेवी मानबिर थारु, दुर्गबहादुर चौधरी, टेकबहादुर चौधरी, शेरबहादुर थारु, दिलबहादुर चौधरी, लगायतले थारुहरुको संस्कृति संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया