थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन


हमार पहुरा डट कम
कैलाली, वैशाख ७ गते । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका थारु कल्याकारिणी सभा (थाकस) कैलालीका सभापति लाहुराम चौधरीको मंगलबार उपचारको क्रममा निधन भएको छ ।

धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उहाँको दिउँसो निधन भएको हो । धनगढी उपमहानगरपालिका –३ बड्हरा निवासी चौधरीलाई ६ लेन सडकमा तरकारी किनेर घर जाँदैगरेकाबेला गत शनिबार साँझ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको अस्पतालमा आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिनुभयो । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक चौधरी टीकापुर घटनापछि घटना आरोपमा तीन वर्ष जेल जिवन व्यतित गर्नुभएको थियो ।

गत सालमात्र बाहिर निस्किनुभएका चौधरी लेखनदासको काम गर्दैआउनुभएको थियो । सभापति चौधरीको निधनमा थाकस, थारु अगुवा तथा स्थानीय समाजसेवीले दुःख व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया