आचारसंहिता उल्लङ्घन गरेको भन्दै तीन दललाई आयोगको खबरदारी


हमार पहुरा डट कम
काठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानविन गर्दा आचारसंहिता विपरित काम भएको ठहर गरेको छ । गत शुक्रबारको निर्णयअनुसार आयोगले सो आदेश गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णयमा भनिएको छ, “सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अव आइन्दा निर्वाचन आचारसंहिता विपरितका कामहरु नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकोले सचेत गराउने ।”

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । सो दलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचार प्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालबाट जानकारीमा आएपछि आयोगले छानविन गरेको थियो ।

“कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकको लागि नियुक्त भई पदासिन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, नेपाल सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ” आदेशमा भनिएको छ, “जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिदैन ।”

राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भुमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासको रुपमा लिन सकिदैन आयोगले भनेको छ ।

“राजनीतिक दल, दलको भातृ सङगठन, सरकारी एवम् अर्ध सरकारी निकायका साथै उम्मेद्वार र सर्वसाधरणमा समेत लागू हुने कानूनी दस्तावेजलाई अनुशरणयोग्य रुपमा पालना गरी दृष्टान्तको रुपमा अगाडि देखा पर्नुपर्ने दलले सो को पूर्ण पालना नगर्नु मर्यादित र शोभनीय बिषय हो भनी आयोगले ठान्न मिलेन” आयोगको आदेशमा भनिएको छ ।

आदेशमा भनिएको छ, “आचारसंहिता उल्लङघन नगरी कुनै सहज र स्वभाबिक रुपमा दलका प्रचार प्रसारका कार्यक्रमहरु सञ्चालन गर्न पाउने सुनिश्चितता हुँदाहुँदै सो तर्फ नलागि उक्त पर्चा सामाजिक सञ्जालमा राखिएको कुरा सो दलको तर्फबाट प्राप्त हुन आएको लिखितपत्र जवाफबाट देखिदा सो दलले आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ उल्लङघन गरेको देखिन आएकोले सो विषयमा थप विवेचना समेत गरी रहन पर्ने देखिएन ।“

सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ ।

सोहीअनुसार आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोभन्दै आयोगले सचेत गराएको छ । सो दलले गत चैत २७ गते मकवानपुरको हेटौडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो । सो कार्यक्रममा आचारसंहिता विपरित झण्डा र बालबालिकाको प्रयोग भएको सञ्चारमाध्यममा खवर प्रकाशन भएको थियो ।

सो पार्टिले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भए गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिई सो दलले आचारसंहिता उल्लङ्घनको कार्य गरेकोले सचेत गराउने आयोगको निर्णय छ ।

त्यस्तै, नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । “कानूनी प्रावधान बमोजिम निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोक्ने व्यवस्था बमोजिम आयोगले २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपियाँसम्म खर्च गर्न सक्नेगरी निर्वाचन खर्चको हद तोकेको” आयोगले जनाएको छ ।

“नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित काँग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा माननीय शशांक कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको भनी दिनुभएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको” आयोगले जनाएको छ ।

“जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौति दिनेगरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन” आयोगको आदेशमा भनिएको छ, “निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन ।”

आचारसंहिताको मूल आधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने आयोगले निर्णय गरेको छ ।

सोहीअनुसार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति उहाँले दिनुभएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको आयोगले जनाएको छ ।

“आफु उम्मेदवार भइ निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेश गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन” आयोगले भनेको छ, “निर्वाचन खर्चको अभिलेखअनुसारको निर्वाचन खर्चको रकम र हाल व्यक्त गर्नुभएका अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ । अव आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने” आदेशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया