खैरहनीमा ५९ जना थारु प्रतिस्पर्धामा, सबैभन्दा धेरै उम्मेदवार एमालेबाट


कारी महतो
चितवन, वैशाख २२ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनीमा विभिन्न दलहरुबाट ५९ जना थारु समुदायका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) को सबैभन्दा धेरै थारु उम्मेदवार छन् ।

नगरप्रमुखसहित १९ जना थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । लालमणि चौधरीले नगरप्रमुख पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै, ५ जनाले वडा अध्यक्षमा र १३ जनाले वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ । वडा नं. ७ मा मनेजर महतो वडा नं. ८ मा शान्तिकुमारी चौधरी, वडा नं. ९ मा बन्धुराम चौधरी, वडा नं. १० मा कारीराम चौधरी र वडा नं. १२ मा कृष्णलाल चौधरीले एमाले तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

नेपाली काँग्रेसले २ जना वडा अध्यक्ष र १३ जना वडा सदस्य गरी १५ जना थारु उम्मेदवार उठाएको छ । वडा नं. ७ मा किरण चौधरी र वडा नं. १० मा चन्द्रविक्रम चौधरीले काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ जना वडा अध्यक्ष र ५ जना वडा सदस्य पदमा उम्मेदवार उठाएका छन् । वडा नं. ५ बाट देवेन्द्र चौधरी, वडा नं. ६ बाट यसरमिया चौधरी, वडा नं. ७ बाट गीता चौधरी, वडा नं. ९ बाट सुशीलकुमार चौधरी र वडा नं. १३ बाट भोलाप्रसाद चौधरीले उम्मेदवारी दिनुभएको छ ।

माओवादी केन्द्रले एक जना वडा अध्यक्ष र ६ जना वडा सदस्य गरी ७ जनालाई उम्मेदवार बनाएको छ । वडा नं. १० मा रामेश्वर चौधरीले माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले ५ जनालाई वडा सदस्य पदमा उठाएका छन् । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । रिखीराम चौधरीले वडा नं. १० को वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

स्वतन्त्रबाट एक जनाले वडासदस्य पदमा उम्मेदवार दिएका छन् । उपप्रमुख पदमा रामेश्वरप्रसाद चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पछिल्लो समयमा उहाँले गठबन्धनको उम्मेदवारलाई समर्थन जनाउनुभएको छ । खैरहनी नगरपालिकामा १३ वडा रहेको छ ।

तपाईको प्रतिक्रिया