हमार पहुरा डट कम
धनगढी, जेठ १२ गते । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । सुदूरपश्चिममा १७ प्रतिशत बढी थारु जनसंख्या रहेपनि स्थानीय तह सदस्य निर्वाचनमा ९.७५ प्रतिशत उम्मेदवार निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौ वटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा थारु जनप्रतिनिधि छैनन् ।
सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो । जसमध्ये थारू समुदायको प्रतिनिधित्व ९.७५ प्रतिशत देखिएको छ । सुदूरपश्चिममा थारू समुदायबाट नगरपालिका वा गाउँपालिकाको प्रमुखमा ९ प्रतिशत, उपप्रमुख वा उपाध्यक्षमा ११.३६ प्रतिशत र वडाध्यक्षमा ११ प्रतिशत प्रतिनिधित्व भएको देखिन्छ ।
थारू समुदायको बाहुल्य रहेको कैलालीमा यो समुदायबाट दुई नगरपालिकामा नगरप्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको मेयरमा रामलाल डङ्गौरा थारू, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी निर्वाचित हुनुभयो । यस्तै, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित हुनुभएको छ ।
यस्तै तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारू उम्मेदवार निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित हुनुभएको छ ।
यसैगरी, जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतीदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित हुनुभयो ।
कञ्चनपुरमा थारू समुदायबाट एक जना नगर प्रमुख, दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बेलौरी नगरपालिकाको प्रमुखमा पोतिलाल चौधरी निर्वाचित हुनुभएको छ । लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना निर्वाचित हुनुभएको छ ।
बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगराम चौधरी, कृष्णपुरको उपप्रमुखमा द्रोपती राना र पुनर्वास नगरपालिकाको उपप्रमुखमा भुलिया राना निर्वाचित हुनुभएको छ । लालझाडी गाउँपालिकाको उपाध्यक्षमा सपना चौधरी निर्वाचित हुनुभयो । कैलालीमा थारू समुदायबाट वडाध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएको देखिन्छ ।
साभार– गोरखापत्र अनलाइन