हमार पहुरा डट कम
काठमाडौं, जेठ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा दायर रिटमाथि आज शुक्रबार सर्वोच्च अदालतमा छलफल तथा बहसका लागि पेशी तोकिएको भएपनि सुनुवाई हुन सकेन । थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार सुनुवाईका लागि ३० गते सोमबारको समय तोकिएको छ ।
थाकसले नेपाल सरकारका विभिन्न निकायलाई विपक्षी बनाएर सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेको थियो । सो रिटमाथि सुनुवाईका लागि दुवै पक्षलाई अदालतमा छलफलका लागि बोलाइएको भए पनि आज सुनुवाई हुन सकेन ।
थारु मानक भाषा मस्यौदा समितिका संयोजक तथा अभियन्ता कुछतनारायण चौधरीकाअनुसार सरकारविरुद्ध थाकसले दायर गरेको रिटहरुउपर २७ गते शक्रबारको छलफल बहस वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा परेको थियो ।
थाकसले त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग, नागरिक उड्डयन प्राधिकरण, नेपाल बैंक लिमिटेडसहित विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । यी संस्थाबाट प्रकाशित विभिन्न विज्ञापन संवैधानिक व्यवस्थाअनुरुप समावेशी हुन नसकेको र विज्ञापनमा थारु क्लष्टरअनुसार आरक्षणको व्यवस्था नगरेको भन्दै थाकसले सर्वोच्चमा रिट दायर गरेको हो ।
थाकसद्वारा दर्ता रिटको पक्षमा अधिवक्ताहरु अम्बरबहादुर राउत, रविन्द्र तामाङ, सुन्दरलाल चौधरी, कपिलदेव ढकाल, सुनिलकुमार पटेल, सीता भट्ट, श्रवणकुमार चौधरी, शिवकुमार यादव लगायतले वहस गर्दैआउनुभएको छ ।