मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी


हमार पहुरा डट कम
काठमाडौं, असार १४ गते । नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीले आफू मन्त्री पदमा बहाल रहँदा कुनै अनियमित्ता र घूस खाने काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रीहरुले घुस खाँदा र नेताहरु जिम्मेवार नहुँदा देशको विकास हुन नसकेको उहाँको भनाई छ ।

मन्त्रीको जिम्मेवारीमा आएपछि सञ्चार माध्यमसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले आफूले कुनै अनियमित्ताको काम नगर्ने प्रतिवद्धता जनाउनुभएको हो । “घुस खानुपर्छ भन्ने मन्त्री र नेताको मनोविज्ञान देखिन्छ, सबैचिज पैसा हो, अहिले नकमाए कहिले कमाउने ? मनोविज्ञान देखिन्छ, यो एकदम गलत छ” उहाँले भन्नुभयो ।

ठगी गर्नेले आफूलाई बहादुरी गरेको मान्ने, गौरव गर्ने मनोविज्ञान एकदम बेठिक मनोविज्ञान भएको उहाँले बताउनुभयो । नेता भनेपछि स्वच्छ छवि हुनुपर्ने ठाउँमा नेताहरुले त्यस्तो छवि देखाउन नसकेको उहाँको बुझाई छ । मन्त्री बन्नु राजनीतिक जीवनको पहिलो खुड्किलो भएको चर्चा गर्नुहुँदै मन्त्री चौधरीले कुनै पनि प्रकारको दाग लाग्ने काम आफूले नगर्ने बताउनुभयो ।

लोभ लालच प्रलोभन दिनेहरु समयअनुसार धेरै आउने भएपनि आफू सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । “यो पद र मन्त्री नै अन्तिम हो भन्नेले घुस खान्छन् होला, तर म बाट त्यस्तो काम हुँदैन, त्यस्तो सुन्ने अवसर म दिन्नँ” उहाँले भन्नुभयो, “म एक्लो सबैचिज त होइन, मन्त्रालय चलाउन विभिन्न तह र पक्ष छ, मेरो योग्यताले भ्याएसम्म सबैलाई स्वच्छ बनाउने प्रयास गर्छु ।”

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका चौधरीले असार १२ गते सो पदमा नियुक्त भएर १३ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया