परम्परागत थारूको भकारी राख्ने चलन हराउँदै


यादवराज पुरी
रौतहट, साउन १२ गते । तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।

अन्न भण्डार मानिने तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट निर्मित भकारी घरको आङ्गन वा खाली स्थानमा राख्ने चलन अधिक थियो । भकारीमा पानी पस्नबाट जोगाउन टाँड बनाई जमिनको सतहभन्दा माथि राखिन्थ्यो । खरको छानो हालिन्थ्यो । भकारीलाई शुभ मानिन्थ्यो चन्द्रपुर नगरपालिका –६ का जेष्ठनागरिक झमल चौधरी भन्नुभयो । भकारी पुजा गरेपछि मात्रै अन्न भण्डारण गर्ने चलन रहेको उहाँको बुझाइ छ । बढ्दो आधुनिकताले अहिले परम्परागत भकारी हराउन थालेको उहाँले बताउनुभयो ।

तराई–मधेशमा धेरै जमिन हुने जमिनदारदेखि मध्यम परिवारका किसानले पहिले भकारी राख्थे चौधरीले भन्नुभयो ।

गाउँका किसानले अचेल धान, मकैलगायतका अन्न राख्न भकारीको प्रयोग निकै कम हुनेगरेको छ । प्लास्टिक तथा जस्तापाताबाट निर्मित वस्तु वा जुट तथा प्लास्टिक बोरामा अन्न राख्न थालिएको स्थानीयको भनाइ छ । तराई–मधेशमा धेरै जमिन हुने जमिनदारदेखि मध्यम परिवारका किसानले पहिले भकारी राख्थे चौधरीले भन्नुभयो ।

अहिले परम्परागत भकारी जीर्ण अवस्थामा भेटिनेगरेको गाउँलेको भनाइ छ । गुजरा नगरपालिका –३ भवानीपुरका किसान हरदेव चौधरीले भन्नुभयो, “आफुलाई जमिनदार वा साहु महाजन भनेर चिनाउन भकारी घर बाहिर राख्ने परम्परा थियो । सो परम्परा जोखिमयुक्त देखिन थालेपछि राख्न छाडियो ।” चोरी हुने, भकारीमा मुसा लाग्ने, पानीले अन्न भिज्नेलगायका जोखिम भएपछि परम्परागत भकारी हराउन थालेको उहाँको बुझाइ छ ।

‘डोम समुदायका मानिसले बनाउने गरेको भकारी लोप हुँदै गएपछि आम्दानीको स्रोत समेत घटेको छ,’ वृन्दावन नगरपालिकाका डोम समुदायका रुपचन मल्लीले भन्नुभयो, ‘बाँसका अन्य सामग्रीभन्दा भकारी बढी मूल्यमा विक्री हुने गथ्र्यो । अहिले चलन नै हरायो ।’

गोरखापत्र अनलाइन डट कम बाट

तपाईको प्रतिक्रिया