थारू गुरही पर्वको अवसरमा दुई वटा गाउँपालिकामा सार्वजनिक बिदा


हमार पहुरा डट कम
धनगढी, साउन १६ गते । कैलालीका दुई पालिकाले थारु समुदायको गुरही पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । कैलारी र जोशीपुर गाउँपालिकाले गुरही पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

पश्चिमका थारु समुदायले मनाउने पहिलो पर्व गुरही हो । भोलि मंगलबार यो पर्व मनाइदैछ । पर्वको अवसरमा गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा सार्वजनिक बिदा दिइएको पालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी, जोशीपुर गाउँपालिकाले साउन ६ गते नै गुरही पर्वको अवसरमा साउन १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गुरही पर्वलाई थारु समुदायमा बालबालिकाको पर्वको रुपमा लिइने गरिन्छ । यद्यपि, अचेल सबै उमेर समूहका मान्छे यो पर्वमा रमाउने गरेका छन् । सामुहिक रुपमा मनाइने यस पर्वले गाउँको रोगब्याधी अन्त्यको सन्देश प्रवाह गर्नेगरेको थारु अगुवाहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया