बालबालिकाको पर्व थारू गुरही

लक्की चौधरी

नेपाली समाज चाडपर्वमा धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिन्छन् रमाउँछन् । गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाज दुःखमा मन बहलाउने माध्यम बन्नेगरेको छ । नेपाली समाजमा नागपञ्चमी ‘गुरही’ मनाउनुको अर्थ, नागबाबालाई पूजा गर्दा सर्प घरमा आउन नसक्ने, बज्रपात घरमा नपर्ने, रोग व्याधी र महामारी घरमा नआउने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय घरमा कुनै दुःख न आइपसोस् भन्ने कामना गरिन्छ ।

थारु समाजमा यसलाई ‘गुरही, गुर्या, नुरही’ भनेर चिनिन्छ । नागपञ्चमीमा विशेषगरी नागबाबाको पूजाआजा गरिन्छ ।

थारु समाजमा यो पर्व र पूजालाई अलि फरक किसिमले हेरिन्छ । परापूर्वकालदेखि मनाउँदै आएको यो पर्व सरकारको नयाँ आर्थिक वर्ष शुरु भएपछि पर्ने पहिलो पर्व हो । खेतीपातीको काम सकेर घरका सदस्यहरु फुर्सदिलो भएकाबेला पर्ने तिहार प्रायः साउन महिनामा पर्छ । पञ्चमीमा पर्ने तिहार भएकाले यसलाई नागपञ्चमी भनिन्छ । थारु समाजमा यसलाई ‘गुरही, गुर्या, नुरही’ भनेर चिनिन्छ । नागपञ्चमीमा विशेषगरी नागबाबाको पूजाआजा गरिन्छ । थारु समाजमा ‘गुरही’ पूजा गरिन्छ । ठाउँअनुसार ‘गुरही’ मनाउने चलन फरक छ । ‘गुरही’ पूजा थारु समाजमा ठाउँ र परिवेशअनुसार फरक शैलीले मनाएको देखिन्छ ।

वर्ष दिनको खाने जोहो गर्नलाई खेतीपातीको काम सकिएपछि आउने यो पर्व अगुवा पर्व हो । साँझ गाई गोरु गोठतिर भित्रिएपछि गाउँको बरघर (भलमन्सा) को पहलमा गाउँका दाजुभाइ, दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा र कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर जम्मा हुन्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमी, बच्चादेखि बुढासम्म भेला हुन्छन् । त्यहाँ भुजा माग्न र रमाइलो हेर्न गाउँलेहरु जम्मा भएका हुन्छन् । गाउँका बरघर एकै साँसमा (एकसंस्सु) डुबो घाँस, कुसमा गाँठो पार्छन् । गाँठो पारीसकेपछि ठटाउने आदेश दिएपछि त्यहाँ जम्मा भएका केटाकेटीहरुले आफुसँग ल्याएको कोर्राले ठटाउँछन् । “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँ घरका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ । साथै गाउँबाट विभिन्न रोगव्याधि र दुःख कष्ट हट्छ भन्ने जनविश्वास छ ।

केटा र केटी आकारको लुगाको पुतला बनाएर चोकमा लगेर ठटाउने गरिन्छ । थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै बहिस्कृत गरेको संकेत यसले गर्छ भन्ने केही थारु अगुवाको बुझाइ छ । अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले जडा गाडेकाले त्यसको अन्त्य होस् भन्ने कामना पनि गरिन्छ । महिलालाई एकातिर जननी जगतमाताको रुपमा पुजिने गरिन्छ । अर्कोतिर बोक्सीप्रथा कायमै राखेर अपमान गरिएको विरोधाभास प्रबृत्ति देखिन्छ ।

ठटाइएका ती पुतलाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरको छानोमा राख्दा घरमा रहेको दुःख कष्ट र सर्प विच्छीहरु घरबाट निक्लेर भाग्ने गर्छन्, विश्वास छ ।

‘गुरही’ पिटेपछि त्यहाँ जम्मा भएका थारु दिदीवहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादको रुपमा बाँड्ने प्रचलन छ । दिदीबहिनीहरु चना, मकै, केराउ लगायतका परिकारका भुजा लिएर जम्मा भएका हुन्छन् । थालको भुजा बाँडेर नसकिदासम्म जम्मा भएकालाई भुजा बाँड्ने काम गर्छन् । थालको भुजा नसिद्धिएसम्म केटाकेटीहरु उनीहरुको पछि लागिरहन्छन् । भुजा माग्दा थारु केटाकेटीहरु “देऊ भुजा देऊ भुजा” भन्छन् । चोकमा ठटाएको भुजा र कपडाको टुक्रा लिएर सहभागीहरु घरतिर लाग्छन् । त्यसरी ठटाइएका ती पुतलाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरको छानोमा राख्दा घरमा रहेको दुःख कष्ट र सर्प विच्छीहरु घरबाट निक्लेर भाग्ने गर्छन्, विश्वास छ ।

‘गुरही’ लाई पिटिसकेपछि नदी, कुलोको पानीमा त्यसको अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँ घरमा रहेको रोगव्याधी र संकट पानीसँगै बगेर जाने र लाभ प्राप्त हुने विश्वास छ । यद्यपि यसको वैज्ञानिक आधार के हो भन्ने पुष्ट्याइँ छैन । गुरही पूजा भगवान नागसँग जुरेको छ । नागपञ्चमीलाई थारु समाजमा ‘गुरही’ भनिन्छ । तर नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन थारु गाउँमा देखिदैन । यदाकदा आजभोली नागको तस्बिर राख्न थालिएको छ । त्यो देखासेकीले मात्र हो । यो पूजा गरेको दिनदेखि सर्प र विच्छीहरु आफ्नो दुलोमा लोप हुन्छन् । अर्कोतिर नाग पुजा गर्दा सर्पको राजा नाग भएकाले डराएर घरमा अरु सर्पहरु प्रवेश गर्दैनन्, घरमा बज्रपात पर्दैन भन्ने विश्वास छ ।

गुरही पर्वको महत्व र यसको वैज्ञानिकता अध्ययन गर्न सके पर्वलाई नयाँ शीराबाट व्याख्या विश्लेषण गर्न सकिने देखिन्छ ।

‘गुरही’ मान्नुको सारतत्व प्रमाणित नभए पनि पुर्खादेखि चलेको चलनप्रति थप खोज अनुसन्धान जरुरी छ । रंगीविरंगी कपडाको पुतला बनाएर त्यसलाई गाउँको चौराहामा लगेर कोर्राले पिटने, पिटीसकेपछि उसैको खुशीयालीमा भुजा बाँडेर खाने चलन रहस्यपूर्ण छ । सारमा भन्दा समाजमा भएको खराव पक्ष र समाजलाई अधोगतितिर लग्ने पक्षलाई गाउँ निकाला गरी गाउँको उन्नति प्रगतिको कामना गर्नु यो पर्वको सार हुन सक्ला । शुरुवातको पर्व भएर पनि थारु समाजभित्र यसको प्रभाव अन्य पर्वजस्तो महत्वपूर्ण भने छैन । मूलतः बालबालिकाले मनाउने पर्व हो यो । गुरही पर्वको महत्व र यसको वैज्ञानिकता अध्ययन गर्न सके पर्वलाई नयाँ शीराबाट व्याख्या विश्लेषण गर्न सकिने देखिन्छ । उहिले यो पर्वलाई बालबालिकाको पर्व भनेर बालबालिकामै सीमित गर्ने गरिएको थियो । तर आजभोलि बालबालिकासँगै युवा, वयस्क, गाउँका अगुवाहरु स्वयम् सहभागी भएर सामुहिक रुपमा गुरही पर्व मनाउने परम्पराको शुरुवात भएको देखिन्छ, जुन राम्रो पक्ष हो । यो पर्व मनाउने र यसको महत्वबारे थप अध्ययन गर्दैजाने र समाजलाई जानकारी गराउने पक्षलाई थारु अगुवाले विर्सन भने हुँदैन ।

तपाईको प्रतिक्रिया