हमार पहुरा डट कम
काठमाडौं, साउन १९ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते आइतबारका लागि तोकिएको छ । मन्त्रिपरिषद बैठकले आज बिहीबार सो मिति तय गरेको हो । निर्वाचन आयोगले सरकारको निर्णयलाई धन्यवाद व्यक्त गर्दै स्वागत गरेको छ । निर्वाचन मिति घोषणा भएसँगै १०७ दिनमा आयोगले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको छ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गराउन सामान्यतः १२० दिन चाहिने भएपनि १०७ दिनमा आयोग निर्वाचन सम्पन्न गर्न सक्षम रहेको बताउनुभयो । आज आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले सो कुरा बताउनुभएको हो । आयोग निर्वाचनको आन्तरिक तयारीमै रहेकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न कुनै समस्या नहुने उहाँले बताउनुभयो ।
प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन एकै चरणमा गर्ने निर्णय सरकारले गरेको छ । निर्वाचनको मिति घोषणासँगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावी र कामचलाउ सरकारमा परिणत भएको छ ।